नेपालको पहिलो बैंकको रोचक ‘कथा’ : २१ वर्ष भारतीय व्यवस्थापक, ग्राहकको पैसादेखि चेक चोरीसम्मका काण्ड ( इतिहास )
प्रजु पन्त विक्रम संवत् १९९०, राणा शासन। बेलायतका लागि नेपाली दूतावासमा सचिव पदमा कार्यरत थिए गुञ्जमान सिंह। दूतावासको बैंकिङ कारोबार उनैले गर्थे। त्यहीबेला उनले बेलायतको व्यवस्थापकसँग बैंकिङ प्रणालीबारे बुझ्ने मौका पाए। वि.सं. १९९३ मा उनी आफ्नो कार्यकाल सकाएर नेपाल फर्किए। सिंह मौद्रिक स्थिति औद्योगिकीकरणको निमित्त चाहिने आर्थिक लगानी तथा व्यापारिक क्षेत्रमा समेत विविधीकरण हुनुपर्ने बुझेका थिए। १९९० देखि नै आर्थिक सुधार नगरीकन पुरानै शैलीले चल्न सक्ने अवस्थामा थिएन। राजनीतिक चेतना बढिरहेको थियो। बदलिँदो राजनीतिक परिस्थितिको भेललाई त्यति बेलाको सत्ताले थेग्न सकिरहेको थिएन। राज्यको आयआर्जनको बाटो समेत बदलिँदै थियो। अन्य मुलुकमा औद्योगीकरण तीव्र रूपमा अगाडि बढिरहेको थियो। अन्य देशले औद्योगिकीकरणबाट मनग्गे आम्दानी गर्न थालिसकेका थिए। त्यता वित्तीय कारोबारका शैली समेत बदलिएर आधुनिकतातिर प्रवेश गरिसकेको थियो। सिंहले त्यति बेलाका प्रधानमन्त्री जुद्ध शमशेरसमक्ष बैंक खोल्दा औद्योगिक विस्तार हुने र सिँचाइका लागि बैंक चाहिने सुझाव दिए। जुद्ध शमशेर उनको कुरामा सहमत भए। अन...