पुस्तक दृष्टिः नेपालको चिनारी, सधैँ सान्दर्भिक, उत्तिकै रोचक



प्रजु पन्त

 

सन् १९५० भन्दा अघिसम्म विश्व मानचित्रमा नेपाल खोज्यो भने भेटिदैनथ्यो। त्यतिञ्जेलसम्म नेपालको भूगर्भको अध्ययन फेला पर्दैन। २६ अक्टोबर १९५० मा तत्कालीन प्रधानमन्त्री श्री ३ मोहन शमशेर जबराको निमन्त्रणामा टोनी हागनको नेतृत्वमा वाल्टर कस्टर, इमिल रोच, अल डे स्पिन्डलर नेपाल आएपछि भूगर्भको अध्ययन शुरु भएको देखिन्छ।

नेपाल सरकारको अनुरोधमा स्वीजरल्याण्डले हागन सहितको टोली नेपाल पठाएको थियो। हागन नेतृत्वको टोली नेपाल आउनुको कारण थियो भौगर्भिक सर्वेक्षण गर्नु। नेपालको पुरै भौगर्भिक सर्वेक्षण गर्ने पहिलो विशेषज्ञ हागन नै हुन्। हागनले नेपालको भौगर्भिक सर्वेक्षण मात्र गरेनन्। सम्पूर्ण नेपालको शिक्षा, स्वास्थ्यको स्तर पनि खुलस्त पारिदिए। भौगर्भिक सर्वेक्षणको क्रममा हागनले नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक विविधता, जातीय विविधतालाई विश्वमाझ चिनाउन उनले उल्लेख्य योगदान गरे। यो पुस्तक हागनले १० वर्षको अवधिमा काम गरेको टिपोट मात्र हैन, नेपाल चिन्ने छोटोमीठो संग्रह पनि हो।

उनले ‘नेपालको चिनारी’ पुस्तकमार्फत तथ्य तथ्यांकको अभिलेखीकरण गरी अर्काे ठूलो गुन लगाए। यो नेपालीमा २०५८ मा अनुवाद भएको थियो। पुस्तक पढ्दा पुरै नेपाल आफैँ हिँडेर पुगेको महसुस हुन्छ। अध्याय तीन ‘अज्ञात कुराको अन्वेषण’ को पृष्ठ १९ मा भौगर्भिक सर्वेक्षण उपशीर्षकमा हागन लेख्छन्, ‘...सन् १९५० देखि १९५८ को अवधिमा खोजयात्राको क्रममा म घटीमा पनि १४ हजार किलोमिटर पैदल हिँडे हुँला। यो पृथ्वीको उत्तरी ध्रुवदेखि हिँडेर दक्षिण अफ्रिकाको केपटाउन पुग्नुजत्तिकै हो। तल माथिको दुरी हिसाब गर्ने हो भने ९ सय ५० किलोमिटर चढेछु, जो समुद्री सतहदेखि हिसाब गर्दा सगरमाथाको उचाइको एक सय गुणा अग्लो हुन आउँछ। प्रत्येक डेढ महिनामा मेरो असल खालको एक जोर बुट फाट्थ्यो। त्यस हिसाबले १० वर्षको मेरो फिल्डवर्कमा २८ जोर जुत्ता फटाएँ। जम्मा १ हजार २ सय ३५ दिन मैले फिल्डमा काम गरेछु, १ हजार २ सय चोटी क्याम्प गाड्ने उखेल्ने काम भएछ। मेरा २० वटा फिल्ड बुकमा २ हजार ४ सय ३७ वटा भौगर्भिक रुटको रेकर्ड, नक्सा र दृश्यहरु अंकित छन्। खोजको सिलसिलामा मैले ३ सय वठा जीवाष्म संकलन गरेँ।’

एक सय दुई पेजको यो पुस्तक १२ अध्यायमा बाँडिएको छ। पहिलो अध्याय प्रारम्भिक अनुभूतिमा हागनले आफू नेपाल आउँदाको स्थितिलाई गहन रुपमा उतारेका छन्। उनको यस अध्यायमा सन् १९५० ताकाको काठमाडौँको चित्रण मिहिन ढंगले अनुभव गर्न पाइन्छ शब्दमार्फत। काठमाडौँको टँुडिखेल अहिले साँघुरिइसक्यो। बाँकी रहेको टुँडिखेलको भाग जोगाउन नागरिक स्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलिरहेको छ अहिले। त्यतिबेलाको टुँडीखेलबारे पुस्तकको पृष्ठ तीनमा लेखेका छन्, ‘आएकै दिन चारैतिर सानदार ठूला रुखहरुबाट घेरिएको टुँडिखेलमा टहलिन हामीलाई कसैले भन्नु परेन। त्यस दिन साँझ सहरका सारा मानिस त्यहाँँ ओइरिएका थिए। मानिसको साथसाथै गाई भैँसी, खसी, बाख्राको र हाँसको बथान पनि कवाज खेल्ने त्यस मैदानमा देखिन्थे।’

दोस्रो अध्याय ‘उहिले र अहिले’ उपशीर्षकमा सन् १९५० ताकाको अर्थतन्त्र, साक्षरता दर, भर्खरै प्रजातन्त्रमा प्रवेश गरेको नेपालको स्वास्थ्य अवस्थाबारे तुलानात्मक चित्रण गरेका छन्। तेस्रो अध्यायमा ‘अज्ञात कुराको अन्वेषण’ सन् १९५० देखि सन् १९५९ सम्म उनले कसरी अन्वेषण गरे, उपकरणको प्रयोग, सहयोगी शेर्पाबारे खुलाएका छन्।

चौथो अध्यायमा  ‘भौगोलिक सर्वेक्षण’ नेपालको भूभागबारे विस्तृतमा उल्लेख गरेका छन्। तराई प्रदेश, चुरे क्षेत्र, महाभारत लेक, मध्यपहाडी भाग, हिमालय, भित्री हिमालय, तिब्बती सिमान्त पर्वत श्रेणी र वनस्पतिको विशेषता उपशीर्षकमा नेपालबारे उल्लेख गरेका छन्।

यो अध्यायले नेपालको भूभागबारे प्रशस्त जानकारी दिन्छ। पाँचौँ र छैटौँ अध्याय पहाडको हावापानी अनि हिमालयको उत्पत्तिबारे धेरै जानकारी समेटिएको छ।

भूगर्भविद् भए पनि हागनले नेपालको रहनसहन संस्कृतिलाई राम्रोसँग उनेका छन्। अध्याय सातमा ‘नेपालीहरु’मा नेवारी समुदायको कला कौशललाई मध्ययुगको जर्मन अथवा स्वीस सहरहरुसँग तुलना गरेका छन्। नेवार समुदाय बसेको स्थानमा बनेको इँटा, काठ र कलात्मक आँखीझ्याल प्रयोग गरेर घर, मन्दिर तथा दरबार बनाउने कलाबारे मिहिन र गहन रुपमा उल्लेख गरेका छन्। उनको पुस्तक पढेर अहिले काठमाडौं सहर घुम्ने हो भने हामीले यस बीचमा सहरको विकास हैन, विनाश गरेको प्रस्ट हुन्छ।

यस अध्यायमा नेवार, तामाङ, गुरुङ, मगर, किरात, लिम्बु, थारु, बाहुन, क्षेत्री र थकालीको रहनसहनबारे छोटकरीमा भए पनि उल्लेख गरेका छन्। तर उनको पुस्तकमा तराईबासी नेपालीबारे उल्लेखनीय सामग्री भने भेटिन्न। उनको पुस्तकमा किन मधेस छुट्यो ? कतै खुल्दैन। के त्यस बेला हागन पुगेको स्थानमा मधेसीमूलका नेपाली थिएनन् र ?

अध्याय आठ ‘इतिहास र संस्कृति’माथि छ। यस अध्यायमा नेपालीको सांस्कृतिक सहिष्णुताबारे पृष्ठ ५६ मा सन् १९५० मा स्वयम्भू घुम्न जाँदा हिन्दू र बौद्ध देवताहरुको मूर्तिसँगै येशू र गान्धीको प्रतिमा देखेर चकीत भएर हागनले शेर्पा सहयोगी आइलालाई जिज्ञासा राखेको देखिन्छ।

आइलाको जवाफले उनी झन् छक्क पर्छन्। आइला भन्छन्, ‘.. सबै एकै सर,’ सबै एकै हुन् भन्ने मान्यता भएको नेपालमा मानिसलाई हिन्दु र बौद्ध छुट्याउन असम्भव छ।’  हागन अगाडि लेख्छन्, ‘...कुनै नेपालीलाई विभिन्न धर्म बीचको विभाजन रेखाबारे सोधेमा ऊ केवल मुन्टो हल्लाउँछ किनभने उसका लागि यस्तो प्रश्नको कुनै अर्थ छैन, यो बेमतलबको कुरा हो।’

छिटपुट रुपमा धार्मिक विवाद भए पनि नेपालमा धार्मिक समुदायबीच वैमनष्यपूर्ण सम्बन्ध भने छैन। हिन्दु धर्मावलम्बीहरुको बाहुल्य रहे पनि अल्पसंख्यक अन्य धार्मिक समुदायकाले असुरक्षित महसुस नगर्नु विकसित समाजको देन मात्र हैन, नेपालीले पुर्खाबाटै पाएको भावना हो भन्ने उनको पुस्तकबाट पुष्टि हुन्छ।
यसै अध्यायमा हागनले नेपालले ब्रिटेनसँग बनाएको सम्बन्ध राणा शासकले अंग्रेजलाई खुसी पार्न गरेको प्रयत्न र विश्वयुद्धमा नेपालको सहभागिताले इतिहासको यो पाटोलाई पटक पटक सम्झाउँछ। पृष्ठ ६२ मा चन्द्र शमशेरले भारतका सम्राट जर्ज पाँचौँलाई तराईमा दिएको आतिथ्यको सुविधा छक्क पार्ने खालको छ। त्यसबेला जर्जका लागि दस हजार सेना ६ सय हात्ती अनि जर्ज स्वयंले दस वटा गैँडा, २ वटा भालु र २१ वटा बाघ सिकार गरेको तथ्य पढ्दा त्यो बेलाको प्राकृतिक र जैविक खानी अनि शासकले गरेको दुरुपयोग छर्लङ्ग हुन्छ।

अध्याय नौमा नेपालको कृषि अर्थतन्त्रबारे उल्लेख छ। उनको यो अध्याय पढ्दा अहिले हामी कृषिमा कसरी परनिर्भर हुन पुग्यौँ भन्ने कुतुहलता बढाउँछ। उनले पुस्तकमा त्यस बेलाको नेपालमा के–के उत्पादन हुन्थ्यो ? भौगोलिक चित्रण  र तथ्यांकसहित रोमाञ्चक रुपमा प्रस्तुत गरेका छन्।

अधिकांश स्थानमा हिँडेरै पुगेका हागनले पुस्तकको दसौं अध्यायमा नेपाल बसाईको क्रममा गरेको हवाई यात्राबारे आफ्नो अनुभव लेखेका छन्।

अन्तिम अध्याय ‘नेपालको सेतो कोइला’ शीर्षकमा छ। यो अध्ययाय हो, नेपालको जलस्रोतको क्षमता र सम्भाव्यताबारे। उनले यसबारे विस्तृत उल्लेख गरेका छन्। उनले त्यही बेला एक नेपाली इन्जिनियरलाई उद्धृत गर्दै नेपालको नदीनालाबाट ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने उल्लेख गरेका छन्। यसले त्यही बेलै नेपालको नदीनाला र विद्युत क्षमताको अध्ययन भइसकेको देखिन्छ।

उनले पुस्तक लेख्नु अगाडि नेपालमा पानीबाट विद्युत उत्पादन शुरु भइसकेको थियो। नेपालमा सन् १९११ मै विद्युत प्रदायक संस्था स्थापना भएर एसियाकै पहिलो जलविद्युतको रुपमा ५० किलोवाटको फर्पिङ जलविद्युत केन्द्र खुलेको थियो। अहिलेसम्म नेपालमा एक हजार ७३ किलोवाट मात्रै उत्पादन भइरहेको छ।

हागनको यो पुस्तकले नेपाल मात्र चिनाउँदैन, त्यो बेलाको नेपाल र अहिलेको नेपाल तुलना गरी किन हामी अझै अल्पविकसित मुलुककै सूचीमा छौं ? हाम्रो अर्थ व्यवस्था किन परनिर्भर हुँदै गयो ? हाम्रो भौगोलिक विविधता, सामाजिक र धार्मिक सहिष्णुतामा किन खलल आउने प्रयास भइरहेको छ, ती सबै बुझिन्छ। मधेस र मधेसी समुदाय छुट्दा पुस्तक अपुरो त देखिन्छ नै, तापनि उनको पुस्तकमा नेपालबारे जे जस्ता सामग्री समेटेका छन्, त्यसले ‘नेपालको चिनारी’ पुस्तक नेपाल बुझाउने अमूल्य कृति बन्न पुगेको छ। जहिले पढे पनि यो उत्तिकै सान्दर्भिक र रोचक छ।

Comments

Popular posts from this blog

सौरभको ‘असहमती ३' मा मेरो असहमती

क्या साह्रो डरा’का यार केटाहरू त !