धर्मदेव र मानदेवको बखान गर्ने इतिहासकारले शासनमा पोख्त रानी राज्यवतीलाई महिला भएकैले हेपे


 



BY PRAJU PANTA


संस्कारका नाममा जिउँदै जलाइने ‘दासीहरू’, तत्कालीन शासक तृप्त भएपछि सरकारकै निर्देशनमा बेचिने ‘भोग्याहरू’, आफू अनुसार शासन चलाउन लगाएर राजालाई नै शासनबाट च्युत गर्ने भनेर करार गरिएका ‘घर भडुँवाइहरू।’ 

साँच्चै महिलाको दृष्टिकोणबाट यो देशको इतिहास लेखियो भने कस्तो देखिएला! 

२१ औँ शताब्दी सम्मको इतिहास निर्माणमा नेपाली महिलाको भूमिका महत्वपूर्ण देखिन्छ। तर इतिहासको पाना पल्टाएर हेर्ने हो भने त्यस्तो देखिंदैन।

नेपाली इतिहासको उत्खनन् नै अपूर्ण छ। जति उत्खनन् भए ती पर्याप्त छैनन्। जति भएका छन् त्यतिमा पनि महिलाको कुरा आएका छन् तर थोरै। 

कार्यकारी पदमा पछि पारिए पनि, महिलाको उपस्थिति नदेखाइए पनि यो देश महिलाको कुनै योगदानबिना नै अहिलेको अवस्थासम्म आइपुग्यो होला त!

धर्मदेवको मृत्यु हुँदा मानदेव सानै थिए। त्यतिबेलाको चलन अनुसार रानी सती जाने प्रथा थियो। तर मानदेवले जान नदिएकाले राज्यवती सती जानु परेन।

मूर्धन्य इतिहासकारहरूका कलम महिलाको चरित्र चित्रणमा ‘हस्तक्षेप’ गरेको, रानीले राजाको ख्याल नगरेको जस्तो एक पक्षीय पाटोमा मात्र किन गयो?

शासन सत्तामा ‘हस्तक्षेप’ गरेका भनि चित्रित गरिएका रानीहरूले किन हस्तक्षेप गरे? राजाको शासन गर्ने ढंग नभएर पो गरे की! 

लिच्छविकालकै महिला शासक राज्यवती

नेपालमा साढे तीन सय वर्ष लिच्छविकाल रहेको मानिन्छ। नेपालमा लिच्छविकाल वि.सं ८०० देखि ११५० साल सम्म रहेको थियो। अहिलेसम्म प्रमाणित प्रमाण अनुसार नेपालको प्रथम राजा मानदेव हुन्। 

आफ्नो पालामा मानदेवले विभिन्न शिलालेख तथा ताम्रपत्रहरू कोर्न लगाएका थिए। त्यही लिच्छविकालीन अभिलेखहरूबाटै इतिहास लेखिएका हुन्।

प्राध्यापक डा. दिनेशराज पन्तका अनुसार वि.सं. १९३७ मा भारतको गुजरातका भगवानलाल इन्द्रजीले ‘ट्वेन्टी थ्री इन्स्क्रिप्सन्स् फ्रम नेपाल’ भन्ने पुस्तकमा २३ वटा अभिलेख छापेका थिए। ती २३ वटा अभिलेख मध्ये लिच्छविकालका १५ वटा, मल्ल कालका सात वटा र शाह कालको एउटा थियो। लिच्छविकालको सबैभन्दा पहिलो अभिलेख सम्वत् ३८६ मा चाँगुनारायणमा कुँदिएको अभिलेख थियो। 

खोजी हुँदै जाँदा करिब अढाई सय जति कुँदिएका अभिलेख प्रकाशित भए। वि.सं. १९३७ मा लिच्छविकालको पहिलो अभिलेख प्रकाशित भएको चाँगुको मानदेवको शिलालेख करिब १०० वर्षसम्म पहिलो नै भइरह्यो। 

त्यसपछिका पुराना अभिलेखका अनुसन्धान फाट्टफुट्ट निस्किए पनि धेरै निस्कन सकेका छैनन्। जति निस्किए ती स्तम्भ लेखले धेरै महत्वपूर्ण कुरा बताउँछन्।

आमाको यस्तो कुरा सुनेर शिर झुकाएर छोराले आमालाई प्रार्थना गर्दै भने ‘हजुरबाट छुट्टिएर बस्नु परेमा हे आमा मेरा निमित्त पनि के सुख, के आनन्द। म पहिले मर्छु अनि तपाईं मर्नु होला।’ 

लिच्छवि राजा वृषदेवका छोरा शंकरदेव भए। शंकरदेवका छोरा धर्मदेव  भए। धर्मदेवकी महारानी राज्यवती हुन्। धर्मदेवको अकस्मात् मृत्यु भयो।

धर्मदेवको मृत्युबारे इतिहासमा अनेक कथन पाइन्छन्। तर स्पष्ट प्रमाण नभएकाले के कारणले बिते भन्न नसिकिने इतिहासकार पन्तको भनाइ छ।

धर्मदेवको मृत्यु हुँदा मानदेव सानै थिए। त्यतिबेलाको चलन अनुसार रानी सती जाने प्रथा थियो। तर मानदेवले जान नदिएकाले राज्यवती सती जानु परेन।

फ्रान्सेली अनुसन्धानदाता सिल्भाँ लेभीले ‘नेपाल अधिराज्यको इतिहास खण्ड २’ मा यसबारे रोचक तरिकाले उल्लेख गरेका छन्। 

‘निष्कलंक राजा मानदेवलाई जन्म दिने सारा विश्वलाई आफ्नो कोमलता र सुन्दरताले शरद ऋतुको चन्द्रमाले जस्तै शीतलता दिन सक्ने राज्यवती थिइन्। आफ्नो राजाको दाहसंस्कार हुनुभन्दा अगाडि उनले मानदेवलाई आँखाभरि आँसु पारेर रुँदै भनिन् ‘तिम्रा पिताजी बित्नु भयो। अब मैले बाँचेर के गर्नु? तसर्थ पुत्र, म पनि तिम्रै पिताजीकै बाटो लिन्छु।’

आमाको यस्तो कुरा सुनेर शिर झुकाएर छोराले आमालाई प्रार्थना गर्दै भने ‘हजुरबाट छुट्टिएर बस्नु परेमा हे आमा मेरा निमित्त पनि के सुख, के आनन्द। म पहिले मर्छु अनि तपाईं मर्नु होला।’ 

यसरी छोराको कुरा सुनेपछि आँखाभरि आँसु भरिएकी आमा अवाक् भइन्। धर्मात्मा छोरासँगै उनले पनि दाहसंस्कार क्रियामा भाग लिइन्। काजक्रिया गरिन्। बाह्मणहरूलाई दान दातव्य दिइन्।’

यसबाट छोरोको आग्रहमा राज्यवती सती नगएको देखिन्छ। इतिहासकार पन्त सती प्रथा हटेको सय वर्ष पनि नपुगेको आजको दिनमा राज्यवतीको पालामा पनि सती जान अनिवार्य नरहेको खुल्ने बताउँछन्।

‘सति प्रथा भए पनि त्यति कडा रहेनछ,’ उनी भन्छन् ‘यदि अनिवार्य हुँदो हो त छोराले आग्रह गर्दैमा दरबारका अन्य भाइभारादारले कसरी मान्दा हुन् र?’ 

यो कुराले के पनि प्रस्ट हुन्छ भने लिच्छविकालमा पनि महिलाको जीवन पुरुषकै हातमा थियो।  पिता, श्रीमान् र छोराको डर-भरमा बस्नुपर्ने अवस्थामा थिए महिला।

वि.सं. १९७७ मा श्री ३ चन्द्रशमशेरले सती प्रथालाई निर्मूल नपारुन्जेलसम्म कुनै न कुनै रुपले सती जाने प्रथा चलिरहेको थियो। सती प्रथा अन्त्यको जस चन्द्र शमशेरले नै पाउँछन् तर...

संस्कारका कारण सती जान खोजे पनि उनको भित्री मनसाय सती जान तयार थियो की थिएन त? महिलाको दृष्टिकोणबाट तत्कालीन संस्कारलाई हेरेको कुनै दस्तावेज छैन। तर छोराको आग्रहमै उनी सती नजानुले उनको भित्री मन सती जान तयार थियो भन्ने देखिंदैन। 

फ्रान्सेली लेखक सिल्भाँ लेभिका पुस्तक अनुसार धर्मदेवको मृत्युपछि रानी राज्यवतीले राजगद्दीमा  मानदेवलाई राखिन्। उनले आमालाई राज्यशक्ति दिए। उनी छोराको सैनिक प्रयोजनबारे सल्लाहकार भएर काम गर्ने भइन्। आफ्नो भाइलाई सेना प्रमुखमा मनोनीत गरिन्।

उनी आफैं सल्लाहकार भए पनि अन्य कुनै महिलालाई प्रमुख जिम्मेवारी दिएको देखिंदैन। अहिलेसम्म पनि नेपालमा सुरक्षा निकायको प्रमुख अनि सरकारको जिम्मेवारीमा महिला पुगेको देखिंदैन। 

नेपाली सेनामा लोकतान्त्रिक शासन प्रणाली आएपछि मात्रै महिला भर्ना खुलेको हो। प्रहरीमा प्रारम्भदेखि नै महिला भर्नाको कानुनी प्रबन्ध रहे पनि अहिलेसम्म महिला प्रमुख हुनसकेका छैनन्। गणतान्त्रिक शासन प्रणाली पनि महिला राष्ट्रपति पाउन सफल भए पनि त्यो संवैधानिक पद हो।

कार्यकारी प्रधानमन्त्री पदसम्म महिला पुग्न सकेका छैनन्। राजनीतिक अवस्था हेर्दा यो इतिहास लामै समय कायम हुने पक्कापक्की झैं देखिन्छ।

अहिले त यस्तो छ भनेपछि त्यो बेलामा राजाको सुरक्षा सल्लाहकारकै हैसियतमा भए पनि राज्य सञ्चालनको अधिकार एक महिलाले पाउन सक्नु लैङ्गिक इतिहासका लागि उल्लेखनीय विषय हो नै। 

पिता धर्मदेवको निधन भएपछि मानदेवले गरेको युद्धमा राज्यवतीले सल्लाह दिइन्। यही सल्लाहले मानदेवले युद्ध जितेको कुरा उल्लेख गरिएको पाइन्छ।

अहिलेसम्म पनि महिलाले कुनै विषयमा निर्णायक तर्क गरेमा ‘पोथी बासेको राम्रो हुन्न’ भन्दै हियाउने प्रयास हुन्छ। तर ‘पोथी बास्दा त्यो राम्रो मात्र हैन निर्णायक पनि हुनसक्छ’ भन्ने त लिच्छविकालमै राज्यवतीबाट पुष्टि भइसकेको थियो। तर उनको योगदानको अवमूल्यन गर्दै ‘पोथी बास्न हुन्न’ भन्ने भ्रामक धारणालाई नै मलजल गर्ने काम भयो। 

यद्यपि त्यतिबेला पनि पितृसत्ता नै थियो। र पितृसतात्मक संरचनाका बीचमा पनि अवसर पाएकाहरूले आफ्नो नेतृत्व क्षमता र विद्वता त देखाएकै हुन्।

‘लुई कि आठौँ रानी जस्तै राज्यवती’

हाँडीगाउँको एउटा शिलालेखमा श्री मानको गुम्बा भनि लेखिएको छ। बौद्धनाथ चैत्यको पौराणिक स्रष्टाले यो आफ्नो आमाको स्मृतिमा बनाएको हुन सक्ने इतिहासकार सिल्भा लेभीँको ठम्याई देखिन्छ। 

मानदेवकी आमा धर्मात्मा र विद्वान् थिइन्। राजकाज र पूजापाठमा निपुण थिइन्। 

बल्सँ द कास्तियक जस्ती ‘फ्रान्सका राजा लुई आठौंकी रानी’ जस्तै  यिनले धेरै मन्दीरहरू बनाइन्। आखिरमा पलान्चोक भगवती र शोभा भगवती बनाउने कलाकारलाई नवसागर भगवतीको मुर्ति बनाउन लगाएर स्थापना गरिन्। चाँगुको अभिलेखमा मानदेवले राजा धर्मदेवको मृत्यु पछि आफ्नी आमा राज्यवतीलाई राज्य सञ्चालन गर्न बिन्ती गरेको देखिन्छ। 

अरू धेरै ठाउँमा झै मानदेवकी आमा राज्यवतीबारे लाजिम्पाटको एउटा शिलालेखमा धार्मिक करुणामयी महिला भन्ने चित्रण गरेको पाइन्छ। 

लेभिको पुस्तक र पन्तको भनाइमा यहाँ समानता भेटिन्छ। धर्मदेवको निधनपछि भएको युद्धमा राज्यवतीको सरसल्लाहमा काम हुने गरेको, राज्यवतीले आफ्ना भाइलाई छोराको साथ पठाएको खुल्छ।

राज्यवती आफू धर्मकर्ममा लिन भए पनि राज्य चलाउन र धर्मकर्ममा उतिकै कुशल रहेको प्राप्त अभिलेखमा देखिने इतिहासकार पन्तको ठहर छ।

पन्तका अनुसार लिच्छविकालको अभिलेख, चिनियाँ यात्रीहरूको वर्णन, संस्कृत वाङ्मयका विभिन्न ग्रन्थ, समुद्र गुप्तको प्रयागको स्तम्भ लेख आदि प्रमाणबाट यसको पुष्टि हुन्छ।

मानदेव सानै उमेरमा राजा भएकाले पूर्व र पश्चिमका सामन्तले राज्य टुक्राउन खोजे। त्यसपछि मानदेवले आमाको सल्लाहबाट आफ्ना मामा अर्थात् राज्यवतीका भाइ वा दाइको मद्दतबाट पूर्वतिरका सामन्तहरूका विद्रोहलाई दमन गरे। 
पश्चिमका गण्डपारिका मल्लहरूको विद्रोह सजिलैसँग दमन भएन। मानदेवले लडाई गरेर नेपालको भौगोलिक एकतालाई अक्षुण्ण राखे। 

यसरी टक्रन लागेको नेपाललाई एक राख्ने काममा मानदेवका मामाको मद्दतमा राज्यवतीको ठूलो योगदान देखिने पन्तको दाबी छ। 

१४ सय वर्षअगाडि नै सती अनिवार्य हैन, ऐच्छिक भएको प्रमाण राज्यवती सती नगएको बयानबाट पुष्टि हुने पन्त बताउँछन्। 

त्यस्तै अनुसन्धानदाता सिल्भाँ लेभीले पनि आफ्नो पुस्तकमा ‘मानदेवकी आमाले आफ्नो प्रभावकारी व्यक्तित्व देखाउन सकेको’ उल्लेख गरेका छन्।

मानदेवको आज्ञाबाट बनेको  चाँगुको स्तम्भको शिलालेखमा मानदेवकी आमाको मात्रै प्रशंसा गरिएको छ। त्यहाँ धर्मदेवकी पत्नी राज्यवती ‘शुद्ध जातकी गौरवशाली साह्रै असल थिइन्। विष्णुकी लक्ष्मी जस्तै थिइन्’ लेखिएको छ। 

राज्यवती निकै दानी। मठ मन्दिर बनाउने। छोरा मानदेवले आमा राज्यवतीतिर फर्केर भने, ‘मैले कुनै काम नगरी त्यसै बसें भने पिताजीको आज्ञा नमानेको ठहर्छ। पिताजीको पाइला पाएर पछ्याएर आफूले पाएको राम्ररी पुरा गर्ने प्रयास गर्दछु। म पनि काम गर्न सक्ने छु’ राजमाता प्रसन्न भइन्।

मानदेव पूर्व पट्टी लागे। त्यहाँको रजौटाको मन जिते। त्यसपछि उनी पश्चिमतिर लागे। उनी आएपछि आमालाई उनले दान मागे। छोरा लडाइ जितेर फर्केपछि राज्यवतीले छोराको दानदातव्य र आफ्नो धर्म कर्म भिन्दै गर्न थालिन्। आफ्नो तर्फबाट पनि मन्दिर, ब्राह्मण र गरिबहरूलाई चन्दा र दान दिइन्। 

इतिहासकार पन्तका अनुसार वि.सं. ५२२ को चाँगुनारायणको अभिलेखको ३ वर्षपछि वि.सं. ५२५ मा मानदेवले आफ्नी आमा पुण्यवतीका लागि वामनावतार विष्णुको मूर्ति स्थापना गरे। सो मूर्ति कलाको दृष्टिले माथिल्लो स्तरको छ।

अकस्मात् श्रीमानको मृत्यु भएर राज्यको जिम्मा पाउँदैमा व्यवस्थापनको गुण आउँछ र? श्रीमान् ज्यूँदै रहेसम्म सैनिक रणनीतिबारे अबुझ भएको भए श्रीमानको मृत्यु लगत्तै छोरालाई सैन्य बारे सल्लाह दिने हैसियतमा उनी पुग्थिन् र!

वि.सं. १९७७ मा श्री ३ चन्द्रशमशेरले सती प्रथालाई निर्मूल नपारुन्जेलसम्म कुनै न कुनै रुपले सती जाने प्रथा चलिरहेको थियो। सती प्रथा अन्त्यको जस चन्द्र शमशेरले नै पाउँछन्।  

तर त्यसभन्दा १४ सय वर्षअगाडि नै सती अनिवार्य हैन, ऐच्छिक भएको प्रमाण राज्यवती सती नगएको बयानबाट पुष्टि हुने पन्त बताउँछन्। 

युद्धमा सहभागी भएर हतियार चलाउनु मात्र नभइ सेना तथा प्रशासनको राम्रो व्यवस्थापन गर्न सक्नु पनि आधा युद्ध जिते बराबर हो। 

नेपाललाई टुक्रिन नदिई जोगाउने काममा राज्यवतीको ज्यादै महत्वपूर्ण भूमिका रहेको हुनाले राज्यवतीको चर्चा हुनुपर्ने इतिहासकार पन्तको भनाइ छ। 

इतिहासका पुस्तक पढ्दा राज्यवतीको बाल्यकाल अनि राजा जिउँदै रहेको बेलामा राजकाजमा उनको भुमिकाबारे पढ्ने रहर लाग्यो। तर योबारे कतै केही प्रष्ट लेखिएको फेला परेन।

धर्मदेवका पिता शंकरदेव। माता को हुन् थाहा छैन। राज्यवती धर्मदेवकी श्रीमती। तर उनको आमा बुबा को खुल्दैन। 
धर्मदेवको इमानदारिता, कुशलताबारे इतिहासमा लेखिएका छन्। उनको मृत्यु भएपछि मात्रै राज्यवतीबारे उल्लेख भएको छ इतिहासमा।

अकस्मात् श्रीमानको मृत्यु भएर राज्यको जिम्मा पाउँदैमा व्यवस्थापनको गुण आउँछ र? श्रीमान् ज्यूँदै रहेसम्म सैनिक रणनीतिबारे अबुझ भएको भए श्रीमानको मृत्यु लगत्तै छोरालाई सैन्य बारे सल्लाह दिने हैसियतमा उनी पुग्थिन् र!

धर्मदेवको मृत्युपछि राज्यको सेनादेखि प्रशासनसम्म उनले सञ्चालन गरेको त प्राप्त अभिलेखले नै पुष्टि गर्छ। तर एउटा प्रश्नको उत्तर इतिहासले दिन सकेको छैन। उनले परेपछि जानेकी हुन् या पहिलैदेखि नै उनलाई राज्य सञ्चालनबारे ज्ञान थियो?

क्रमश:

यसै सिरिजको पहिलो भाग :

सन्दर्भ सूची 

१.  आचार्य, बाबुराम । वि.सं.२०६० आश्विन ५ गते । श्री ५ प्रतापसिंह शाह । काठमाडौँ । अन्तर्राष्ट्रिय छापाखाना प्राली, सम्पादक तथा प्रशासक प्राध्यापक श्रीकृष्ण आचार्य 
२.  पन्त, दिनेशराज । २०७६ । नेपाल एकीकरणमा  राजेन्द्र लक्ष्मीको योगदान । नागरिक परिवार, चैत्र २६ 
३.  पन्त, नयराज ।  २०१६ मंसीर। इतिहास संशोधनको प्रमाण प्रमेय (पहिलो भाग) । काठमाडौं : जगदम्बा प्रकाशन
४.  प्रकाशन मिति २०३७ । ग्रन्थकार धनबज्र बज्राचार्य, टेक बहादुर श्रेष्ठ (पहिलो भाग) । शाहकालका इतिहास । प्रकाशक नेपाल र एसियाली अनुसन्धान केन्द्र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर 
५.  आचार्य, बाबुराम । नेपाल, तिब्बत र चिन । २०७४ । फाइनप्रिन्ट 
६.  नेपाल, ज्ञानमणी । नेपाल निरुत्त । वि. सं २०४० काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
७.  पन्त, दिनेश । २०७६ । लिच्छविकालमा राज्यवतीले जोगाएको नेपाल। नागरिक परिवार।
९. पुस्तकः लेभी, सिल्भाँ । सन् २००७ । नेपाल अधिराज्यका इतिहास । काठमाडौं : हिमाल किताब 
१०.मानान्धर, त्रिरत्न । नेपालको इतिहासमा जंगबहादुर । २०७७ काठमाण्डौं : मञ्जरी पब्लिकेशन

२६ फागुन, २०७९, १७:२५:२५ मा प्रकाशित प्रथम पटक ukeraa.com

https://www.ukeraa.com/news/detail/130634/


Comments

Popular posts from this blog

सौरभको ‘असहमती ३' मा मेरो असहमती

Impact of exports on gross domestic product in Nepal

Paper Review : Dean Yang's paper, "Migrant Remittances”