आशा सफू कुथि जहाँ पाइन्छ ८ सय वर्ष अघिका पुराना दस्ताबेज

 

२०४४ साल मंसिर २१ गते प्रेमबहादुर कंसकारले बडो दुख गरेर खोलेका थिए आशा सफू कुथि । आशा सफू कुथि बारे जान्नु अघि प्रेमबहादुर कंसाकार को थिए बाट शुरु गरौँ 


प्रजु पन्त 

सधैँ झै त्यो दिन पनि वसन्तपुर दरबार क्षेत्रमा सबेरै उठेर हिडेका थिए प्रेमबहादुर कंसकार ।  केही स्थानियले पुराना कागजातहरु विदेशीलाई महंगो मूल्यमा बेचेको देखे । पद्मोदयमा लामो समय देखि पढाइरहेका कंसकारलाई पूराना कागज अनि दस्तावेजको महत्व थाहा नहुने कुरै भएन । उनले सोचे, 'स्थानियको घरमा जति छन् त्यो सबै पूराना कागजात संकलन गर्ने ।'  त्यहि दिन देखि उनले पुराना कागजात तथा दस्तावेज  संकलन गर्न थाले ।  

पञ्चायतकालको समय, स्वतन्त्र पूर्वक लेख्न पढ्न पाइने अवस्था थिएन ।  उनी राजा महेन्द्रले शाही 'कु' गरेर सत्ता हत्याएको विरोधमा त थिए नै त्यसमाथि उनको पृश्ठभूमिले पनि उनी प्रति पञ्चायती सरकारले तारो बनाइरहेको थियो ।   

पुराना दस्ताबेज संकलन गर्न थालेको धेरै भएकै थिएन । २०३० साल भदौ १५ गते पुराना बहुमुल्य सामाग्री संकलन गरेको अनि मूर्तिचोरको आरोपमा कंसाकारलाई गिरफ्तार गरियो । नयाँ सन्देश पत्रिका निकाल्थे रमेशनाथ पाण्डेले । त्यस पत्रिकामा सो समाचार छापियो । 

समाचारमा, 

'मूर्तिचोरहरुको गिरोहमा पुराना राजनैतिक व्यक्तिहरु पनि समावेश रहेको आशंका खडा भएको छ । २०१७ साल अगाडि 'लाल कम्युनिष्ट' तथा हाल स्थानिय एक हाई स्कुलका शिक्षक प्रेम बहादुर कसंकारको गिरफ्तारी' भनेर लेख्यो । कंसाकारको पक्राउ सनसनी फैलियो । कंसकारको लागि त पक्राउ पर्नु थुनिनु नौलो कुरा थिएन । देश भित्र तथा बाहिर पटक पटक पक्राउ परिरहन्थे ।  पञ्चायतकालमा राजनीतिक दलहरु प्रतिवन्धित थिए । सरकारले नागरिक र फरक विचार राख्नेलाई पक्राउ गर्दा सरकार विरोधी सबैले विरोध गर्थे । उनी पक्राउ परेको पनि विरोध हुने नै भयो । 

 मदन सेन बज्राचार्यले नेपालभाषामा 'प्रेमबहादुर कंसकारको जीवनी' पुस्तकमा लेखे अनुसार सरकार इतरका पत्रपत्रिकाले विरोध गर्न थाले ।  राष्ट्रिय पूकार पत्रिकाले त  '२०३० साल भाद्र १५ गते प्राचिन वस्तु घरमा भएको अभियोगमा कंसकार पक्राउ परे । यदि यसो हो भने सारा इतिहासकारहरु सँग केही न केही पुराना वस्तु हुन्छन् ति सबै अपराधी हुने भए । यो सवाल हेर्दा त श्री कंसकार गिरफ्तारी एक षडयन्त्र त हैन ।'  जति विरोध भएपनि सरकारले उनलाई थुन्यो नै । तर विशेष अदालतले भने उनलाई सफाइ दियो । त्यतिबेला प्रकाशन भएको समय दैनिकले उनलाई अदालतले सफाइ दिएको कुरा उल्लेख गरेको छ ।

भारत छोडो आन्दोलन देखि पञ्चायत विरोधी सम्म 

वि.सं. १९७४  साल वैशाख शुक्ल दशमीमा माता लक्ष्मी नानी र पिता आशामान कंसाकारबाट प्रेमरत्न कंसकारको जन्म भयो । सानै देखि उनी पढाईँमा पोख्त थिए । उनले घण्टाघर मूनि उर्दु र फारसी पनि सिकेका थिए । उनले उर्दु र फारसी भाषा छिटो सिकेको देखेर उनलाई पढाउने एक मुसलमान मौलिंवाले तिमी त क्या बहादुर रहेछौँ  भन्थे । परीक्षा लिन सरदार ज्वालासिंह हमाल आए। स्मरण शक्त्ति देखेर उनी पनि चकित भए । अब देखि तिम्रो नाम प्रेमबहादुर  कंसकार भनिदिए । त्यसमा उनले नाइँ नास्ती पनि गरेनन् । प्रेमरत्न कंसकारबाट प्रेमबहादुर कंसकार भए । 

एसएलसीसम्म पढेपछि कंसाकार १९९५ सालमा भारतको पट्ना गए । पटना युनिभर्सिटिमा पुगेका उनमा राणा शासन फाल्ने हुट हुटी चल्यो । पट्नामा रेडिकल डेमोक्रेटिक पार्टीमा आबद्ध भए । उनी पछि नेपाली राष्ट्रिय कांग्रेससँग जोडिन पुगे ।  राणा शासन हटाउनु पर्छ भन्ने अभियानमा उनी पनि लागे । त्यही बेला भारतमा अंग्रेजविरुद्ध आन्दोलन चर्किरहेको थियो । बेलायतको लामो औपनिवेशकै कारण राणाहरु टिकेको र यो हटेमा सहजै राणा शासन हट्ने त्यतिबेलाका नेपाली नेताहरुले बुझेका थिए । नेताहरुकै सार लागेर उनी पनि भारत छोडो आन्दोलनमा लागे । सँगै उनले पढाइलाई पनि निरन्तरता दिए । आइए पास गरेपछि उनले बिए जोइन गरे । त्यतिबेला आइए दुई वर्ष अनि बिए पनि दुई वर्षकै हुन्थ्यो । वि.सं. १९९९ मा  भारतमा चलेको आन्दोलनले  प्रभाव पार्यो । उनले नेपाल प्रजातन्त्र संघ गठन गरे ।  

पढाइसँगै राजनीति गरिरहेका कंसकार नेपाली राष्ट्रिय कांग्रेसको सचिवालयमा काम पनि गर्न थाले । नेपाल राष्ट्रिय कांग्रेसमा डिल्लीरमण रेग्मी र बीपी कोइराला बीच पार्टी सभापतिको हुनेमा चर्को विवाद भएको र पार्टी भारत परस्त भएको उनको आरोप थियो । 

उनले कांग्रेस छाड्नु अघि विभिन्न आरोप लगाएर लेख नै लेखेका थिए । 'नेपालमा नयाँ बाटो' , 'नेपालको राजनीतिक नयाँ पाटाको नयाँ निर्माण क्रान्तिको नयाँ सिर्जना पुस्तिकामा आफ्नो धारणा राखे  भने 'राणाहरुको एकतन्त्रिय शासनको निरंकुशता नेपालमा प्रजापरिषद् र नेपाली राष्ट्रिय कांग्रेस द्वारा जनताले गरेको आशा कोइराला र रेग्मीको सभापतिको पदको लागि परेको झगडाले अन्यौँलता सिर्जना गरेको', 'पार्टी जनताको लागि नभएको राजनीतिक खुराक दिन नस्कने स्थितिमा पुगेको चमेरे नीति' अप्नाएको भन्दै खुलेरै विरोध गरे ।

 त्यति मात्रै हैन  राजनीतिक सन्यास भन्ने शिर्षकमा पार्टीभित्र कंचिगल भन्दै नेहरुको चिहान नेपालमा भन्ने लेख लेखेपछि विवाद उत्कर्षमा नै पुग्यो । अनि उनले कांग्रेस छाडे । नेपाली कांग्रेसको इतिहास भाग १ पुरुषोत्तम बस्नेतको पुस्तकमा उल्लेख भए अनुसार उनले पुषपलाल र उनले सँगै राष्ट्रिय कांग्रेस छाडेका थिए भने उनीहरुलाई पटनामा शंकाको दृष्टिले पनि हेरिन्थ्यो ।  

राजनीति र शिक्षा विकास सँग सँगै 

उनमा राजीनित भित्रको हुटहुटी  सिधिएकै थिएन । विभिन्न संघ संगठन खोल्ने गरिरहे ।   पहिले पनि प्रजातन्त्र संघ मार्फत उनले केही समय कार्यक्रमहरु  गरेका थिए । संघको शुरुवातमा सूर्यबहादुर भारद्वाज शम्भुराम श्रेष्ठ पुष्पलाल श्रेष्ठ राजाराम कर्मचार्य गोपाल वैद्य लगायत थिए । उनीहरु भूमिगत नै थिए । 

राजनीतिको नसाले नछाडेपनि  कंसकारले व्यवस्थित भएर राजनीतिक दलमा लागेको भने देखिदैन । उनले राजनीति र शैक्षिक विकासलाई सँग सँगै लगेको देखिन्छ । 

भारत र नेपाल आउने जाने गरिरहन्थे । उनले मांसागल्लीमा प्रदिप्त पुस्ताकालयको स्थपना गरे भने पद्मोदय स्कुलमा शिक्षक पनि भए । उनले अंग्रेजी भुगोल र नेपाल भाषा पढाउँथे । 

राणाकालमा पुस्ताकालय खोल्न पञ्चायतकाल भन्दा कठिन थियो । पुस्ताकालय खोल्न अनुमति लिनुपर्ने थियो । डाइरेक्टर जनरल अफ पब्लीक इन्सट्रकसनमा अनुमति लिनुपर्ने भएपनि पहिले पुस्ताकालय खोलेर अनि मात्रै अनुमति लिन गए  प्रेमबहादुर गए  । एउटा चिठी तत्कालिन श्री ३ महाराज पद्म शमशेरलाई पनि काटेका थिए । अनुमति लिएर पुस्ताकालय खोल्नुपर्नेमा पुस्ताकालय खोलेर अझ तिर्थराज तुलाधारबाट उद्धघाटन समेत गराएपछि राणा प्रधानमन्त्री रिसाउने नै भयो ।   पद्य शमशेरले उनलाई दरबारमा बोलाए । 

त्यसबीचमा उनीहरु बीच रोचक कुराकानी भयो । 

पद्म शमशेर : प्रेम बहादुर भन्ने  तिमि नै हौँ ? 

 प्रेमबहादुर :  हो सरकार 

पद्म शमशेर : पुस्ताकालय खोलेको ? एक पटक सोध्नु पर्दैन ?

 प्रेमबहादुर : सरकारले बारबार शिक्षा प्रचार गर्नु पुस्ताकालय खोल्नु भन्ने हुकुमभएकाले खोलेको हो सरकार त्यसपछि मात्रै पत्र लेखेको । 

पद्म शमशेर : भैगो अब के गर्नु पर्यो त 

प्रेम बहादुर : सरकार पुस्ताकालयलाई एउटा घर भए हुन्छ 

पद्म शमशेर : पुस्ताकालयको लागि घर खोजेर खबर गर्नु आर्थिक सहयोग पनि गरौँला  । 

 पद्म शमशेरले चर्को आलोचनालाई मत्थर पार्न केही विद्यालयहरु खोलेका थिए । मुखले उनी शिक्षा नै महत्वपूर्ण कुरा हो भन्थे ।  त्यसैको फाइदा उठाएर पुस्ताकालय खोले प्रेमबहादुरले । प्रेमबहादुर पुस्ताकालय खोल्ने पढाउनेका अतिरिक्त भित्र भित्र राजनीतिमा पनि सक्रिय थिए । पछि उनी कम्युनिष्ट पार्टीहरुबाट प्रभावित भए । 

उसो त २००२ सालमा नै उनले 'करुणाकुञ्ज' नाटक देखाएका थिए । यो त्यतिबेला क्रान्तिकारी भावानाले ओतप्रोत  थिए । त्यसयता उनले नेवारहरुको नाट्यपरम्परामा योगदान दिइरहे । नेपाली साहित्यिक पत्रिका हिमानीमा उनले हाम्रो नाटक परम्परा अन्वेषणात्मक लेख पनि लेखे । त्यति मात्रै हैन उनले पत्रिकाहरु पनि निकाले ।  आफ्नै घरमा उनले आशालक्ष्मी प्रजातन्त्र घर बैठक कक्ष समेत बनाएका थिए । 

प्रजातन्त्र आएपछि तत्कालिन सरकारसँग उनको मतभेद थियो । नेपाल जनवादी संघ खोलेका थिए उनले । त्यो संघले सबै किसिमका विदेशी हस्तक्षेपलाई एकै लातमा थच्कक पारी देश  सरकार र ग्रैहसरकारी एकै बारमा खत्तम गर भन्ने नारा लेखे । राँको भन्ने पत्रिकामा । यहि निहुँमा उनलाई गिरफ्तार गरियो । २०१८ साल देखि २०२२ साल सम्म चलेको भाषा आन्दोलनमा उनी सक्रिय भएर लागे । 

अन्वेशणात्मक लेखन र क्रान्तिकारी राजनितिक चेतले उनलाई पञ्चायतकालमा पनि छाडेन । त्यसैले त उनले विदेशीले महंगो मूल्य तिरेर लगेपछि बाँकी रहेका दस्ताबेज जोगाउनु पर्छ भनेर लागे । 

अनि स्थपना भयो आशा सफू कुथि  

 २०३० साल भन्दा अघि देखि नै उनले दस्ताबेज संकलन गर्न थालेकै थिए । यस बिचमा उनले विश्व भाषा क्याम्पसमा पढाउँथे पनि । त्यही एक जना अमेरिकन विद्यार्थी थिए । इयान अल्सप नेपालमा बसेर बौद्ध धर्मको अनुसन्धान गर्न आएका थिए । इयान कहिलेकाही प्रेमबहादुर कंसकारको घरमा गइहरन्थे ।  प्रेमबहादुरले ७ वर्षकै उमेरमा नै विवाह गरिसकेका थिए । हर्ष शोभासँग उनको सानै उमेरमा विवाह भएको थियो ।  उनका दुई छोरा एक छोरी भएपनि जिउँदो भने एक छोरा मात्रै रहे । जिउँदा एक छोराको पनि निधन भइसकेको छ ।  प्रेमबहादुरको घर गएको बेला इयानले पुराना दस्ताबेज हेर्न खोजे । दस्ताबेज बाकसमा हालेर राखिएको थियो । 

इयानले खोजेको दस्ताबेज बडो दुख गरेर खोजेर दिए कंसकारले । त्यतिनै बेला एउटा आइडिया दिए कंसकारलाई इयानले । जापानको टोयटा फाउण्डेशनले पुराना सामानको सुरक्षार्थ पनि काम हुन्छ  त्यस संस्थासँग सम्पर्क गर्न सुझाए । 

सोही अनरुप कंसाकारले काम गरेपनि वि.सं.२०४४ मंसिर २१ गते  सालमा आशा सपू कुथि अर्थात आशा ज्ञान भण्डार स्थपना भयो । प्राचिन वस्तु संकलन गरेबापत गिरफ्तारीमा नै परेका कंसकारको सपना पूरा भयो । जापानको टोयटा फाउण्डेशनका कार्यकारी अध्यक्ष प्राध्यापक युजिरो हायासिबाट उद्धघाटन समेत गराइयो । 

अभिलेखालयलाई घरजग्गा किन्न आवश्यक अन्य सामाग्री पाण्डुलिपिहरुको अभिलेख राख्न तथा शुरुवाती काम सञ्चालन गर्नका लागि रकम पनि जुट्यो । त्यसको ३ वर्ष पछि प्रेमबहादुरको पनि निधन भयो । 

असनबाट सिधै गएपछि रक्तकालि अजिमाको मन्दिर आउँछ । त्यही मन्दिरको अगाडि नै रञ्जना लिपिमा 'आशा सफू कुथि' लेखिएको  छ । विदेशी तथा स्वदेशी अनुसन्धाताहरु त्यहाँ गइरहन्छन् ।  पुस्ताकालय प्रमुख छन् शरद कंसा । शरदविक्रमका अनुसार  नेपाल संवद ३०० देखि ६ सय सम्मका ताडपत्रहरु संकलित छन् ।  

ताडपत्र भनेको  त्यसबेला कागजको विकास भइसकेको थिएन । महत्पूर्ण लिखतहरु त्यही ताड पत्रमा लेखिन्थ्यो । ताड रुखको नाम हो । 

यस पुस्ताकालयमा ७ हजार भन्दा बढि ग्रन्थहरु छन् । नेपालका विभिन्न जात जाति सम्प्रादय सम्बन्धित छन् । पुजाआजा, औषधि उपचार, तन्त्रमन्त्र, ज्योतिषी, खगोलविद्या, वेद, पुराण, वास्तुकला, शैव, बौद्ध सम्बन्धी दस्ताबेजहरु छन् । 

महायान र बज्रायन सम्प्रादयका ग्रन्थहरु धेरै छन् भने नेपालभाषाका साहित्य भजन गित लोकथा पनि उपलब्ध छन् । 

प्रविधि मैत्रि यस कुथि ५ हजार ३ सय ८२ वटा ग्रन्थहरुको संक्षिप्त विवरण राखिएको छ भने ७ हजार २५ वटा पाण्डुलिपिहरु डिजिटाइज भएका छन् । निश्चित रकम तिरेपछि त्यो डिजिटल भर्सन नै पाइन्छ । पुस्ताकालयको प्रमुख शरदका अनुसार यस संस्थाको उद्देश्य नेपालको प्राचिन बहुमूल्य पाण्डुलिपिहरुहरुको जनस्तरबाट संकलन गर्ने नेपालका सम्पदा सम्बन्धी अध्यायन योग्य सान्दर्भिक मुल्यवान पाण्डुलिपिको संरक्षण गर्ने सबै ग्रन्थ सूचिका लाग क्याटालग बनाउने आधुनिक प्रविधि अनुसार अप्डेट हुँदै जाने अनि अध्ययन अनुसन्धान गर्न चाहनेलाई सो उपल्बध गराउने । 

यस संस्था नेवारी परम्परा अनुसार नै चलाइएको छ । गुथी मार्फत संस्था चलेको  र तीन जना कर्मचारी रहेको उनले बताए ।  जनस्तरबाट संकलन गरेर चाहिएको बेला राज्यलाई अथवा व्यक्तिहरुलाई सामाग्री उपलब्ध गराउनु पर्ने प्रेम बहादुर कंसकारको योजना अनुसार नै संस्था चलेको शरदविक्रमको भनाइ छ । 

उनले केही समय अघि भएको एउटा घटना सम्झिए स्वयम्भूमा रहेको स्तूप नजिकै रहेको 'प्रतापपुर र अनन्तपुर' मन्दिर भत्किरहने । केही समय अघि चट्याङ लागेर त्यो भत्कियो । पुरानै संरचना अनुसार बनाउनु पर्ने बाध्यता ।  पुरातत्वविभागमा त्यसको नक्सा भेटिएन । खोज्दै जाँदा यहि कुथिमा भेटियो । नक्सा फोटोकपि गरेर बुझाए । जनस्तरबाटै शंकलन भएका यस्ता महत्वपूर्ण दस्ताबेजले राज्यलाई नै सहयोग हुने उनको बुझाइ छ । 

यो ukeraanews.com मा पहिलोपटक प्रकाशित भएको छ ।

 https://www.ukeraa.com/news/detail/155665/

  


  



 



 


Comments

Popular posts from this blog

सौरभको ‘असहमती ३' मा मेरो असहमती

क्या साह्रो डरा’का यार केटाहरू त !

पुस्तक दृष्टिः नेपालको चिनारी, सधैँ सान्दर्भिक, उत्तिकै रोचक