नेपालले खोजिरहेको सिर्जनात्मक ‘विनाश’
एकसरो
प्रजु पन्त
स्मार्ट फोनको नवप्रवर्तन (इनोभेसन)ले क्यामेरा, जिपिएस डिभाइस,अडियो रिडर,अलार्म क्लक,इन्टरनेट ब्राउजर, क्यालकुलेटर, इ-बुक्स आदि जस्ता डिभाइसको औचित्य समाप्त पारिदियो ।
स्मार्ट फोन नहुँदो हो त यि सबै डिभाइसका लागि छुट्टै खर्च गर्नु पर्थ्यो तर (क्रिएटिभ डिस्ट्रकसन) सिर्जनात्मक ‘विनाश’ले स्मार्ट फोनमा खर्च गर्दा थप सुविधा पनि पाउने भइयो । यो मान्छेले गरेको ‘आर्टिफिसियल इन्टिलिजिन्स’ अघिको ठूलो इनोभेसन (नवप्रवर्तन) हो ।
पृश्ठभूमि
यस लेख हामीले अर्थशास्त्रीत्रय Philippe Aghion, Celine Antonin र Simon Bunel को पुस्तक ‘द पावर अफ क्रिएटिभ डिस्ट्रक्सन - इकोनोमिक अपहिल एण्ड वेल्थ अफ नेसन’ नामक पुस्तकमा आधारित रहेर नेपालले कहाँ- कहाँ क्रिएटिभ डिस्ट्रक्सन गर्न सक्छ ? नेपालमा किन र कस्ता किसिमका नवप्रवर्तनहरू आवश्यक छन् भनि छलफल गर्नेछौँ ।
शुरूवातमा, अर्थशास्त्री Philippe Aghion को हुन् भन्ने बारे । फ्रान्सेली अर्थशास्त्री Philippe Aghion सन् २०२५ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सह–विजेता हुन्। दीर्घकालीन आर्थिक वृद्धिमा नवप्रवर्तनबाट उत्पन्न हुने “सिर्जनात्मक विनाश” (creative destruction) ले कसरी गति दिन्छ भन्ने व्याख्या गर्छन् । प्राध्यापक समेत रहेका उनले अनुसन्धान नवप्रवर्तन, प्रतिस्पर्धा नीति र आर्थिक वृद्धिजस्ता विषयमा केन्द्रित गरेका छन् । फ्रान्सेली अर्थशास्त्री Céline Antonin OFCE मा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत छिन्। प्राध्यापक समेत रहेकी उनले नवप्रवर्तन अर्थशास्त्र, डिजिटल रूपान्तरण र श्रम बजारमा अनुसन्धान गरेकी छन् । आर्थिक नीतिका विषयमा उनले टिप्पणी पनि गर्ने गर्छिन् । त्यस्तै अर्का लेखक Simon Bunel समेत फ्रान्सेली अर्थशास्त्री हुन् । उनी अनुसन्धानकर्ता नवप्रवर्तन, प्रविधिगत परिवर्तन, उत्पादकत्व र श्रमसम्बन्धी अध्ययन गरेका छन् ।
यि तीनै अर्थशास्त्रीको यो किताब नेपालका लागि किन पनि महत्वपूर्ण छ भने यसले नवप्रवर्तन गरेर कसरी छिटो विकास गर्न सकिन्छ भन्ने व्याख्या गर्छ । नेपालमा राजनीतिक आन्दोलनहरू ७ साल देखि २०८२/८३ सम्म भएका भयै छन् तर ‘आर्थिक आन्दोलन’ भने ‘प्रोसेस’ बाट ‘एक्सन’ मा जान सकेको छैन। यो किताब ‘घिस्रिएको’ नेपाली विकासलाई ‘दौडाउन’ सहयोगी हुने देखिन्छ । यस लेखमा किताबका मूख्य अंशलाई नेपालको सन्दर्भमा अनुसार व्याख्या गरिने छ ।
नवप्रवर्तनले बदलेको विश्व
१७ औँ शताब्दीमा २५ देखि ३० प्रतिशत बच्चा एक वर्ष नहुँदै मर्थे, ५० प्रतिशत २० वर्षसम्म मात्रै बाँच्थे । तर, आज अवस्था बद्लिएको छ । युरोपियन देशहरूमा अहिले प्रतिहजार ४ जनाको मात्रै मृत्यू हुन्छ । सन् १००० देखि १८२० सम्म विश्वको प्रतिवर्ष आर्थिक वृद्धिदर ०.०५ प्रतिशत मात्रै थियो । तर १८२० बाट १८७० सम्ममा भने ०.५ प्रतिशत पुग्यो । त्यसपछि आर्थिक वृद्धिदर बढ्दै गयो । विश्वको आर्थिक वृद्धिदर सन् १९५० देखि १९७३ सम्ममा त ३ देखि ४ प्रतिशत सम्म भयो ।
आर्थिक वृद्धिदर मात्रै होइन व्यक्तिहरूको औषत आयु पनि बढ्दै गयो । शहरमा बस्ने नागरिकहरू पनि बढ्दै गए । युरोपियन देशहरूमा १७८९ देखि १८३८ सम्ममा त उद्योगहरू बढ्दै गए । मेटल, कपडाका,खाद्यन्न,केमिकल सम्बन्धी उद्योगहरू खुले ।
यो बीचमा यति धेरै परिवर्तन कसरी भए त ? यसबारे उक्त पुस्तकमा लेखक त्रयले ‘द इनिग्मा अफ टेक अफ’ अध्यायमा यसबारे व्याख्या गरेका छन् । आर्थिक वृद्धिदर नवप्रवर्तनका कारण भयो । किनकि, नवप्रवर्तन ज्ञानको सङ्ग्रहले हुन्छ । नवप्रवर्तन भनेको नयाँ,विचार र ज्ञान वा प्रविधिलाई सफलतापूर्वक व्यवहारमा उतार्नु हो । उदाहरणका लागि औषधीहरूको उत्पादन, खोपहरूको उत्पादन र खाद्यन्नको सही उपयोग । गर्भवती महिला र बच्चालाई दिने खोपले उनीहरूको औषत आयु बढाएको अनि मातृमृत्यूदर शिषु मृत्यूदर घट्दै गएको हो ।
नवप्रवर्तन यसै हुँदैन । संस्थागत वातावरण खोज्छ भने सम्पत्ति माथिको पूर्ण अधिकार समेत खोज्छ । नवप्रवर्तनले भइरहेको कुरालाई परिवर्तन गर्छ भने निरन्तर नयाँ कुरा उत्पादन भइरहेको हुन्छ । उदाहरणका लागि तपाईंहामीले प्रयोग गर्ने स्मार्ट फोन फुत्तै बनेको हैन । यो पहिले टेलिफोन,टुक टुके फोन हुँदै सानो क्यामेरा भएको, थोरै बेर रेकर्ड गर्न, मिल्ने सानो सानो गेम खेल्न मिल्ने बन्दै अहिले धेरै जसो काम (जुन माथि उल्लेख भएको छ ) स्मार्ट फोन बन्यो । अझ धेरै फिचर थप्ने काम नवप्रवर्तनकर्ताहरूले गरिरहेका छन् ।
विश्वले यति धेरै विकास गर्दा नी हामीले किन सकेनौँ त ? नवप्रवर्तन गर्न इच्छाएर मात्रै हुँदैन । त्यसका लागि ज्ञान, ज्ञानका लागि लगानी र काम गर्ने वातावरण हुनु पर्छ । नवप्रवर्तन नभएको देख्दा हाम्रोमा यिनै कुराको अभाव भएको देखिन्छ ।
ज्ञान मूख्य गरी दुई प्रकारका हुन्छन् । पहिलो, शैद्धान्तिक ज्ञान र दोस्रो व्यवहारिक ज्ञान । शैद्धान्तिक ज्ञान अन्तर्गत वैज्ञानिक ज्ञान जसले प्राकृतिक कुराको व्याख्या गर्छ भने दोस्रो व्यवहारिक ज्ञानले ज्ञानको उत्पादन गर्ने काम गर्छ ।
कसरी त ?
उदाहरणका लागि विज्ञानले ज्वरो आएमा सिटामोल खाँदा ठीक हुने तथ्य पत्ता लगाउँछ । त्यस्तै सिटामोल कसरी बनाउने के-के मिसाएर बनाउने भन्ने ज्ञान विज्ञान सँग हुन्छ भने कति मात्रामा खाने भन्ने ज्ञान प्रयोग गरेपछि मात्रै थाहा हुन्छ । अर्को उदाहरण विरूवा हुर्कन मल चाहिन्छ मलका लागि नाइट्रोजन, फस्फोरस र पोटासियम चाहिन्छ भन्ने वैज्ञानिक तथ्य हो । कति हाल्ने, कुन ठाउँमा कति प्रयोग गर्ने भन्ने कुरा किसानले काम गर्दै जाँदा व्यवहारिक ज्ञान सिक्न सक्छ । यसरी शैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान मिल्यो भने नवप्रवर्तनको फाइदा पनि हुन्छ ।
१९ औँ शताब्दीमा अभुतपूर्व धन सञ्चय भयो । धेरै अविस्कार भयो । त्यतिबेला प्रिन्टिङ प्रेस र हुलाकहरूले ज्ञानको उत्पादन र प्रसारलाई अत्यन्तै सहज बनाए । अविस्कार गर्न व्यक्तिहरू उत्साहित भए किन कि उनीहरूको प्याटेन्ट राइट पाएका थिए जस्ले गर्दा सम्पत्ति माथिको अधिकार पाए । त्यसपछि त औद्यगिक क्रान्ति नै भयो । ज्ञान सञ्चितिकरण नै आर्थिक वृद्धिदरको प्रमुख शक्ति बन्न पुग्यो । ज्ञान छिरलिएर रहेनन् संस्थाहरू पनि भए जस्ले सम्पत्ति माथिको अधिकार पाए र नवप्रवर्तनका लागि प्रोत्सािहित भए । जसले गर्दा आर्थिक वृद्धिदर मात्रै भएन मातृमृत्यूदर घट्यो, शिषु मृत्यूदर घट्यो,अस्थाइ रोगले कमको ज्यान गयो, पोषण युक्त खाना पाए भने शिक्षा र स्वास्थ्यमा धेरै परिवर्तनहरू भए ।
विश्वमा यि सबै परिवर्तन भइरहँदा हामी भने एकात्मक शासनमा थियौँ । राजा -राणाहरूले नेपालको सम्पत्ति दोहन गरेका थिए । सन् १८२० मा विश्वले आर्थिक क्रान्ति शुरू गर्दै गर्दा नेपाल भने १८१६ मा आफ्नो भूमि कति हो भन्ने थाहा पाएको थियो । त्यसपछि पनि राजा रजौटा मिलाउने राजाका भारदारहरू बीच सत्ताका लागि हानथाप नै चल्यो ।
त्यस्तै १०३ वर्षको राणा शासन पनि यहि बीचमा रह्यो । सन् १९३० को विश्व आर्थिक मन्दी हुँदा नेपालमा बल्ल उद्योग धन्दा खोल्नु पर्ने बहश शुरू भए । विश्व नवप्रवर्तनमा लम्किसक्दा नेपालको साक्षरतादर २००७ साल सम्म २ प्रतिशत पनि थिएन। पढ्न र पुस्ताकालय खोली माग्ने नेपालीलाई नेल ठोक्ने र प्रजातन्त्र माग्नेलाई मृत्यूदण्ड दिन्थे राणा शासकहरूले सती प्रथा जस्तो कु प्रथाको अन्तय गरे पनि खास सुधारका कामहरू गरेनन् । राणाहरूले आफ्ना भाइभारदाहरू पढाउन कलेज खोलेका थिए । देव शमशेर जस्ले शिक्षामा क्रान्ति नै ल्याउन खोजेका थिए उनी तीन महिना पनि प्रधानमन्त्रीमा टिकेनन् भने वैज्ञानिक गेहेन्द्र शमशेर समेत काम गर्न सकेनन् । यसरी हेर्दा राणा शासकहरू आफूलाई अत्याधुनिक सुविधाका लागि सामान भरिया लगाएर बोकेर आयत गर्थे भने नेपालमै नवप्रवर्तनको लागि प्रोत्साहित गर्दैनथे भन्ने खुल्छ ।
१९८६ मा प्रधानमन्त्री भएका भीमशमशेरले शुरुमा मुलुकको उत्थानको लागि दुनियाँसँग सुझाव माग्दै ‘इस्तिहार’ छपाए। भीम शमशेरको यही कुराले उत्साहित महाकवि लक्ष्मी प्रसाद देवकोटा लगायतका युवाहरुले सरस्वती सार्वजनिक पुस्तकालय खोल्न बिन्ती हाले। त्यसका लागि तयारी गर्न थाले। उनीलगायत ४५/४६ जनालाई पक्राउ गरियो। उनीहरुलाई गाथगादी ताक्न खोजेको आरोप लगाइयो। केही जेल परे। दुई जनाले एक एक हजार जरिवाना तिर्नुपर्यो। बाँकीलाई १२ वर्ष जनहितको कुनै काम नगर्ने सर्तमा जनही १०० रुपैँया दण्ड तिराएर छाडियो। यो घटना लाइब्रेरी पर्वले चर्चित छ। विश्वले औद्यगिक क्रान्ति नै गरेको यो समयमा नेपालमा भने पुस्ताकालय खोल्नै नै यो किसिमको राज्यको हस्तक्षेप थियो । ज्ञान विनिर्माणका लागि नेपाली राज्य कति अनुदार र अधिनायकबादी थियो भन्ने यस दृष्टान्तले कहन्छ ।
प्रविधिमा आएको क्रान्ति
दोस्रो अध्याय ‘सुड वि फियर टेक्नोलोजिकल रिभोलुसन्स?’ शिर्षकमा लेखकत्रयले प्रबिधिमा आएको क्रान्तिले कसरी औद्यगिक क्रान्ति भयो भन्ने व्याख्या गरेका छन् । न्यूकोमन स्टिमले सन् १७१२ मा अविस्कार गरेको स्टिम इन्जिनको निरन्तर अनुसन्धान गरेर १७७० को दशकमा जेम्स वाटले स्टिम थप प्रभावकारी बनाए । यस इन्जिनले खानीबाट खनिज उत्खनन गर्दा पम्प जसरी पानी तान्ने काम गर्दथ्यो । न्यूकोमनको इन्जिन तल माथि गरेर मात्रै चल्थ्यो तर जेम्स वाटले घुम्न मिल्ने गरी इन्जिन बनाए । जसले गर्दा कारखानाहरू चलाउन सम्भव भयो । जसको फलस्वरूप कारखानाहरू बढे, उत्पादन धेरै भयो,मानिसहरू गाउँबाट शहर आउन थाले भने औद्यगिकरणको युगको शुरूआत भयो ।
निरन्तर प्रविधिको विकास हुने क्रम रोकिएन। सन् १८६६ मा थोमस इडिसनले लाइट बल्बको बनाएपछि दोस्रो क्रान्ति भयो । विद्युतिय विकासले विश्वमा अर्को छलाङ मार्यो । यसैको जगमा जापान, बेलायत र अमेरिकाले आर्थिक वृद्धिदर गर्दै गए ।
कसरी त ?
उत्पादनका लागि भूमि,श्रमिक र पूँजी भए हुन्छ भन्ने अवधारणा विस्तारै परिवर्तन हुँदै थियो । अब उत्पादनका लागि प्रविधि अत्याआवश्यक जस्तो भइसकेका थिए । द्वितिय नवप्रवर्तन हुन थाले । द्वितिय नवप्रवर्तन भनेको पहिले नै अविस्कार भइसकेका प्रविधिहरू नक्कल गरेर थप परिष्कृत गर्दै लैजाने हो । उदाहरणका लागि आइफोनको अविस्कारलाई लिन सकिन्छ ।
सन् १९३० मा ग्रेट डिप्रेसन भएपछि जेएमस् किन्सले पनि प्रबिधि मार्फत विकास गर्न सकिने बताएका थिए । सन् १९५२ मा त केही अर्थशास्त्रीहरूले अब श्रमिक नै नचाहिने मेसिनले नै सबै काम गर्ने बताउँथे । सन् १९९० मा (स्किल्ड बायस्ड टेक्नोलोजी) उच्च क्षमता भएका कामदाहरूको माग बढ्दै गयो । कम क्षमता भएकाहरू बेरोजगार हुन थाले । प्रविधिको ज्ञान भएका र नभएका बीचको ज्यालामा ठूलो असमानता भयो ।
कुरा यतिमा मात्रै सिमित रहेन। विकासको गति रोकिएकै थिएन र छैन पनि । अटोमेसन अर्थात धेरैजसो कमा मेसिनले आफैँ गर्न थाल्यो । हजारौँ तथ्यांकहरू मेसिनले केलाउन सक्ने भयो । उदाहरणका लागि १०० वर्षको मौसम कुन समयमा कस्तो थियो भनेर केलाउन प्रत्येक वर्षको तथ्यांकलाई मान्छे आफैँले प्रोसेसिङ गर्नु पर्दैन। यसलाई कुनै सफ्टवेयरमा हालिदिएपछि कम्पयुटर आफैँले काम गर्छ र नतिजा निकाल्छ ।
मेसिनले त काम गर्ने नै भयो के अटोमेसनले फेरि जागिर खोस्छ त ? साना कम्पनिहरू जब अटोमेसनको प्रयोग गर्छन् उनीहरूले छिटो काम गर्न सक्छन् र आफ्नो दायरा पनि फराकिलो बनाउँदै लैजान्छन् । अर्थात उनीहरूले कामदारहरू निकाल्ने हैन थप्न थाल्छन् ।
उदाहरणका लागि नेपालमा गोरखापत्र शुरू भएको १२५ वर्ष पुग्यो । गिद्धे प्रेसले पत्रिका छाप्थ्यो हप्तामा दुई पटक । सरकारले के गरिरहेको छ बाहिर पख के भएको छ भन्ने थाहा पाउने माध्यम गोरखापत्र थियो त्यो पनि २ दिन मात्रै विगतका गतिबिधि बारे थाहा पाउँथे । जब प्रबिधिको विकास हुँदै गयो टाइपराइटर बाट कम्पयुटरमा लेख्ने सम्म आइपुग्दा पत्रिका भन्दा अनलाइनहरू धेरै भए । पुराना सिप भएकाहरू जो प्रेसमा काम गर्थे उनीहरूको काम त गयो तर समग्र पत्रकारिता क्षेत्रमा धेरै रोजगारी सिर्जना भयो ।
चोकचोकमा २ हजार २५ सय जतिले काठमाडौँमा पत्रिका विक्रि गर्थे पत्रिकाहरू सेलाएसँगै उनीहरूको काम त गयो तर पडकास्ट भिडियो कन्टेन्ट क्रिएटर अनलाइनहरूले हजारौँलाई रोजगारी दिएको छ ।
यस्ता तथ्यले के देखाउँछ भने जति धेरै प्रविधि विकास हुँदै गयो उति आर्थिक वृद्धिदर बढ्दै जान्छ नै रोजगार सिर्जना पनि हुन्छ । सन् १८६६ मा विद्युतको विकास देि अटोमेसन सम्म आउँदा नयाँ प्रविधिले थोरै समय रोजगारबाट बिमुख भएको देखाएपनि नयाँ काम सिर्जना भएको देखिन्छ । त्यसकारण साना देश जुन आफ्नै अनुसन्धानमा आधारित भएर नवप्रवर्तन गर्न सक्दैनन् द्वितिय नवप्रवर्तन गर्न जरूरी हुन्छ । जसले आर्थिक वृद्धिदर र रोजगार सिर्जना हुन्छ । व्यवसायले नाफा पनि कमाउँछ र नाफाले उनीहरूलाई व्यवसाय विस्तार गर्न सघाउ पुराउँछ ।
के प्रतिष्पर्धाले विकासका लागि राम्रो हो?
उदार अर्थतन्त्रका हिमायतीहरूले प्रतिष्पर्धाले नवप्रवर्तन हुने कुराको वकालत गर्छन् । यस किताबको चौथो अध्यायमा ‘इज कम्पटिसन गुड थिङ्स?’ मा प्रतिष्पर्धाले नवप्रवर्तन कसरी हुन्छ भन्ने व्याख्या गरेको छ । सम्पेटेरियन देखि हाल सम्म आउँदा आर्थिक वृद्धिदर र नवप्रवर्तनको सकरात्मक सम्बन्ध हुने देखाउँछ ।
आखिर नवप्रवर्तन कस्ले गर्छ त ?
किताबले भन्छ नवप्रवर्तनका लागि उद्यमीहरूले लगानी गर्छन् । जुन उद्यमी अथवा फमहरूले नवप्रवर्तन गर्छन् उनीहरूको कम्पनिको वृद्धिदर पनि बढ्दै जान्छ नगर्ने कम्पनिहरूको वृद्धिदर हुँदैन। प्रविधिबाट टाढा रहेका फमहरूको गिरावटलाई यस पुस्तकले व्याख्या गरेको छ ।प्रतिष्पर्धा पनि हुने बौद्धिक सम्पत्तिको समेत रक्षा हुने हो भने नवप्रवर्तनका लागि भएका प्रतिष्पर्धा अर्थतन्त्रका लागि फलदायि हुन्छन् ।
नेपालको सन्दर्भमा हेरौँ, सन् २००४ सम्म नेपालमा २ हजार भन्दा बढि साना ठूला गार्मेन्ट फ्याक्ट्री थिए । ति फ्याक्ट्रीहरूले अमेरिका बेलायत जापान जस्ता देशमा कपडा निर्यात गर्थे । सन् १९८० देखि सन् २००५ सम्म फस्टाउँदै गएको गार्मेन्ट फ्याक्ट्री दुई तीन कारणले डुब्यो एक अमेरिकाको कोटा प्रणाली र श्रमिकहरूको अत्याधिक हड्ताल र प्रविधिमैत्री नहुँदा । ३५ वर्ष गार्मेन्ट फ्याक्ट्री चलाएका छोटेलाल रौनियार उत्पादनमा नवप्रवर्तन नहुनु पनि उद्योगहरू डुब्नुको कारण बताउँछन् ।
नेपालका उद्योगहरूले नवप्रवर्तनका लागि लगानी गरेको भए अनि राज्यले व्यवसायीको व्यवसायलाई सुरक्षा दिएको भए गार्मेन्ट फ्याक्ट्री जबरजस्त स्थापति उद्योग हुने थियो । उद्योगहरू प्रतिष्पर्धा नै गरेर अघि बढ्ने थिए ।
के प्रतिष्पर्धा ठीक हो त ?
नेपालको दुई टेलिकमलाई हेरौँ । नेपाल टेलिकमको एकाधिकार हुँदा सिम कार्ड पाउनै सकस थियो । इन्टरनेट र डेटाका सुविधा पनि दिएको थिएन जब एनसेल आयो सिम कार्डको सहजता त भयो नै इन्टरनेट देखि कलसम्म धेरै सुविधा दिन नेपाल टेलिकम बाध्य भयो। अहिले ३ करोड जनसङ्ख्या रहेको नेपालमा झण्डै दुई तिहाइले फोन चलाउँछन्। सिम त जनसङ्ख्या भन्दा धेरै विक्रि भएको छ ।
यसले के फाइदा गर्यो त ?प्रतिष्पर्धाले गर्दा गुणस्तरिय र सस्तो सेवा प्राप्त गर्न सकियो । यसले त अन्ततगत्वा उपभोक्तालाई नै फाइदा पुग्यो ।
के नवप्रवर्तनले असमानता बढ्छ ?
पाँचौँ अध्यायमा लेखक त्रयले ‘इनोभेसन, इनइक्वालीटी र ट्याकसेसन’का बारेमा कुराकानी गरेका छन् । नवप्रवर्तन यसै हुने कुरा हैन। उद्यमशिल गतिबिधिले नवप्रवर्तन हुन्छ । नवप्रवर्तन हुन संस्थागत वातावरण र बौद्धिक सम्पत्तिको अधिकारले पनि प्रोत्साहित गर्छ । कुनै पनि कम्पनिले नयाँ अविस्कार वा सुधार गरेपछि अतिरिक्त लाभ प्राप्त गर्छ । कसरी त ? उदाहरणका लागि एप्पल कम्पनिको मोडल फरक फरक आएका छन् । फिचर्स थपेर थप्ने काम भइरहन्छ जसले गर्दा अघिल्लो उत्पादन भन्दा बढि मूल्यमा विक्रि हुन्छ जसले गर्दा कम्पनिले धेरै आम्दानी गर्न सक्छ ।
अर्को माइक्रसफ्टका अप्डेटेड भर्सनहरू पनि हुन् । त्यस्तै नवप्रवर्तनले पुराना प्रविधिलाई परास्त गर्छ र सामाजिक गतिशिलता समेत बढाउँछ । धेरै अविस्कार भएमा असमानता बढाउँछ ? किन अमेरिकामा धेरै नवप्रवर्तन भएता पनि आर्थिक असमानता उच्च छ त ? लेखक त्रयको तर्क छ नवप्रवर्तनले व्यक्तिको आयमा असमानता ल्याउँछ तर बृहत अर्थशास्त्रमा भने असमानता ल्याँउदैन । उनीहरूको तर्क छ, सोसियल मोबिलिटि सामाजिक गतिशिलता पनि बढ्दै जान्छ र उत्पादन पनि बढ्ने हुँदा आयस्तर पनि बढ्छ । नवप्रवर्तन गर्ने फमहरू कामदारका लागि सामाजिक भर्याङ हुन् । कसरी त ? फम नवप्रवर्तन मैत्री भइदिदा अदक्ष कामदारको समेत दक्षता बढ्दै जान्छ र उनीहरूको तलब पनि बढ्दै जान्छ ।
अर्को तिर, असमानता किन हुन्छ यो बुझ्न जरूरी छ। आमा/बा र सन्तानबीचको आयले पनि सम्बन्ध राख्छ । डेनमार्क नर्वे स्वीडेन तथा फिनल्याण्डमा य असमानता कम छ किनभने उनीहरूको सामाजिक गतिशिलता बढि छ । लबिङ गर्ने समूहहरूले राजनीतिक नेतृत्वलाई प्रभाव पारे भने नवप्रवर्तन हराउँछ बाँडीचुँडी खाउ मिलिजुली जाउँले नयाँ कुरा अविस्कार गर्दैन। त्यसकारण लबिङ गर्ने समूहलाई प्रोत्साहन गर्नै हुँदैन बरू कर ठीक्क लगाउनु पर्छ जति धेरै कर थुपार्यो उति नराम्रो प्रभाव पार्छ।
इनोभेसनका लागि कस्ता नीतिगत काम गर्नु पर्छ त ?
किताबले तीन कुरामा काम गर्नु पर्ने बताउँछ । पहिलो, उच्च शिक्षामा लगानी बढाउनु पर्छ । अर्थात नलेज इकोनोमी (ज्ञान अर्थतन्त्र) मा लगानी बढाउनु पर्छ त्यस्तै दोस्रोमा, श्रमिक -उत्पादकत्व बढाउनु पर्छ अर्थात उनीहरूलाई तालिम दिएर प्रतिष्पर्धी बनाउन जरूरी छ भने तेस्रोमा भेन्चर क्यापिटलहरू स्थपना गर्नु पर्छ जसले सहजै नवप्रवर्तनका लागि लगानी गर्न सकुन् ।
नेपालमा उच्च शिक्षाको लागि राज्य तथा निजि क्षेत्रको शैद्धान्तिक ज्ञानको लागि मात्रै खर्च भएको देखिन्छ । जसले गर्दा इन्जिनियर डाक्टर जस्तो टेक्निकल फिल्डमा अत्यन्तै थोरै विद्यार्थी हुने र एकेडेमिक क्षेत्रमा धेरै विद्यार्थी हुने देखिन्छ । १७ वटा विश्वविद्यायलयमा एकेडेमिक अर्थात सेवा क्षेत्रमा काम गर्ने जनशक्तिको अत्याधिक लगानी भएको देखिन्छ तर नवप्रवर्तनका लागि १ प्रतिशत रकम समेत नछुट्टिनुले हामी नवप्रवर्तनमा निकै पछि छौँ भन्ने प्रष्ट पार्छ ।
के यो सबै काम निजि क्षेत्रले मात्रै सक्छ त ? सक्दैन । दिगो रोजगार मानव पुँजी संकलनका लागि सरकारको आवश्यकता देखिन्छ । सरकारले कर लिएपछि शिक्षा, स्वास्थ्य, अनुसन्धान र पूर्वाधारमा लगानी बढाउँदै आयमा पुनर्वितरण गर्नु पर्छ ।
उहि गतिमा नवप्रवर्तन सम्भव हुन्छ त ?
हुँदैन । छैँटौँ अध्यायमा ‘द सेकुलर स्टेगनेशन’मा दीर्घकालिन आर्थिक स्थिरता बारे व्याख्या गरिएको छ ।प्रविधि समय अनुसार बद्लिदै गइरहेको हुन्छ । जस्तै फिल्म क्यामेरा- डिजिटल क्यामेरा- स्मार्टफोन । साना साना सुधारहरू आउँछन् । सुधार गर्न नसक्ने कम्पनिहरू डुब्दै जान्छन् ।अहिले संसारमा सेमिकण्डक्टर कम्पनिहरूले चिप मात्रै बनाउँदैनन् । सफ्टवेयरको विकास गर्छन् कम्पयुटर बनाउँछन् र डेटा सेन्टर सञ्चालन गर्छन् । सन् १९७१ मा ७५ प्रतिशत पेटेन्ट सेमिकण्डक्टरमा थियो सन् २०१० सम्म आइपुग्दा ८ प्रतिशत मात्रै भयो । धेरै अनुसन्धानकर्ताहरू धेरै उत्पादन गर्नेमा मात्रै केन्द्रित हुँदैद्दन् । उनीहरूले छिटो र सस्तो काम गर्न सक्ने पनि विकास गर्दै जान्छन् । त्यसैले धेरै कम्पनिहरू अनुसन्धान र विकासका लागि धेरै खर्च गर्छन् । अहिले संसारमा इलेक्ट्रिक गाडिको ब्याट्रीका लागि अनुसन्धानमा प्रतिष्पर्धा गरिरहेका थिए । सधैं अविस्कार नयाँ बनाउन मात्रै होइन आफ्ना प्रतिष्पर्धी जोगाउन समेत हुन्छन् ।
सबै देशमा एकै चरणको विकास भने भइरहँदैन। उदाहरणका लागि जापानमा नवप्रवर्तन सन् १९८० सम्म निकै धेरै थियो त्यसपछि कमजोर वृद्धिदर भएको देखिन्छ । किन यस्तो हुन्छ त ? बुढा जनसङख्या बढ्दै जानु, ठूला व्यापारी समूहको प्रभुत्व जसका कारण प्रतिष्पर्धा घटाउने, नवप्रवर्तन रोक्ने गर्छ जसले गर्दा नयाँ कम्पनिलाई प्रवेश गर्न गाह्रो पर्छ । अहिले चीनमा तिब्र वृद्धिदर भएको देखिन्छ । त्यहाँको नवप्रवर्तन पनि विश्वमा चाख लाग्दा भएका छन् ।
यो बीचमा नेपाल कहाँ छ त ?
नेपालमा आफ्नै उत्पादक भनेर बेच्ने परम्परागत बस्तु भन्दा केही छैन । दुनियाँमा प्रबिधिमा आमूल परिवर्तन भइदिदा हामी अरूले उत्पादन गरेका बस्तु उपभोग गर्ने त भएका छौँ तर त्यसलाई सेकेण्डरी उत्पादन गर्न सकेका छैनौँ ।
राष्ट्रिय अविस्कार केन्द्रका सञ्चालक एवं पुर्व मन्त्री र हाल सांसद समेत रहेका महाबीर पुन कृषि औजार कारखाना चलाउन आफ्नो आत्मकथा बेचेर खर्च जुटाइरहेका छन् । दैनिक उपभोगका लागि चाहिने कोदालो देखि ट्याक्टर सम्म आफैँले उत्पादन गर्न नसक्नु भनेको विकास तर्फ पाइला नचाल्नु हो ।
मध्यम आयको जालोमा
यो किताबको रोचक पक्ष भनेकै एक पछि अर्को अध्याय निकै चाख लाग्दो हुनु हो । सातौँ अध्याय ‘कन्भरजेन्स, डाइभर्जेन्स एण्ड द मिडिल इनकम ट्रयाप’ अर्को रोचक लाग्दो तथ्यहरू छन् ।
शुरूमा कन्भरजेन्स भनेको बुझौँ, गरिब देशले पनि छिटो विकास गर्ने, नयाँ प्रबिधि अप्नाउने, लगानी बढाउने र शिक्षा र सिपमा सुधार गर्नु हो । डाइभरजेन्स भनेको चाहिं धनि देश धनि हुँदै जानु गरिब देश पछि पर्नु हो । जसमा संस्थाहरू कमजोर हुन्छन्, कम लगानी हुन्छ र शिक्षा र सिप पनि खास हुँदैन ।
१८९० सम्ममा अर्जेन्टिनाको कुल ग्राहस्थ उत्पादन अमेरिकाको ४० प्रतिशत थियो । ब्राजिल र कोलम्बिया भन्दा तीन गुणा ठूलो थियो । कृषिमा आधारित अर्थतन्त्र रहेको अर्जेन्टिनामा यो क्रम धेरै समय टिकेन । सन् १९३० मा भएको वृहद आर्थिक मन्दीको असरमा पर्यो । अर्जेन्टिनाले कृषिमा आधारित अर्थतन्त्रलाई नवप्रवर्तनमा आधारित बनाउन नसक्दा पछि पर्दै गयो ।
जसले गर्दा मध्यम आयको जालोमा देश पर्यो। मध्यम आयको जालोमा पर्नु भनेको गरिब देशबाट मध्य आय तिर लम्कनु तर उच्च आय तिर जान नसक्नु हो । जहाँ ज्याला बढ्दैन, नवप्रवर्तनको कमि हुन्छ, शिक्षा कमजोर हुन्छ, कमजोर शासन व्यवस्था हुन्छ र सिमित क्षेत्रमा निर्भरता हुन्छ ।
सन् १९७० देखि २००० सम्म विश्वमा नै समानता बढेको देखिन्छ । विशेष गरी दुई प्रकारका वृद्धिदर भएका देखिन्छन् । पहिलो लगानीमा आधारित वृद्धिदर दोस्रो नवप्रवर्तनमा आधारित वृद्धिदर भए । लगानीमा आधारितले पुँजी र श्रमलाई प्राथामिकता दिन्छ भने परिवर्तन हुन निकै गाह्रो हुन्छ प्रतिफल पनि सिमित नै हुन्छ तर नवप्रवर्तनले नयाँ आइडियालाई प्राथामिकता दिन्छ र प्रतिफल पनि उच्च दिन्छ ।
कम विकसित मुलुकले कुन अप्नाउने त ?
पक्कै पनि इनोभेसन बेस्ड ग्रोथ । जसका लागि ‘क्याच अप स्टार्टिजि’ यो भनेको पहिले देखि नै विकसित देशमा भएका प्रविधि र तरीका अप्नाउने हो । नयाँ प्रविधि कपि गर्ने र एडोप्ट गर्ने चीनले सन् १९८० बाट यसै गरेको थियो । इमिटेसन ड्राभइन ग्रोथ अर्थात प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने स्रोत र साधन छुट्ट्याउने अनि अध्ययन र विकासका लागि लगानी गरेको थियो ।
लगानीकर्ताले आफ्नो फमलाई चाहिने के भनेर अनुसन्धान गर्छ त्यसपछि आफ्नो देशमा नभएको प्रविधि भित्र्याउँछ र अनुकुलन गराएर स्थानिय आवश्यकताहरू पूरा गर्छ ।
नयाँ अविस्कार गर्नु भन्दा पहिले नै भएको विकासलाई अनुकुलन गर्दा खर्च जोगिन्छ वृद्धिदर पनि बढ्दै जान्छ । केही विकसिल देशहरू त यसरी नै विकसित देशमा नै पुग्छन् । केही देशहरू भने मध्य आयको पासोमा पर्छन् । कारण त्यो इमिटेशन संस्थागत सुधार गर्न नसक्नु प्रतिष्पर्धा कम हुनु जस्ता कारण हुन्छन् ।
एउटा उदाहरण, वीरगञ्ज चिनि कारखाना २०२१ सालमा स्थपना हुँदा त्यहाँका मेसिनहरू रसिया सरकारले दिएको थियो । त्यहाँका मेसिनहरू पुराना प्रविधिका थिए । कतिपय सामान बिग्रयो भने नेपालमा बनाउन समेत सक्ने अवस्था थिए । राजनीतिक र आर्थिक कारण बन्द भएपनि समय सुहाउँदो प्रविधि मैत्री बनाउन नसक्दा ति प्रविधिहरू बन्द हुनु अघि सम्म चलाउन गाह्रो हुने स्थितिमा पुगेका थिए ।
आर्थिक शंकट र अन्तराष्ट्रिय प्रतिष्पर्धाले इमिटेशन बेस्ड ग्रोथ टू इनोभेसन ग्रोथ मा जान्छ । एउटा उदाहरण सन् १९९७ / १९९८ मा दक्षिण कोरियालाई वित्तिय शंकट आइपुगेको थियो । त्यसपछि दक्षिण कोरियाले इमिटेशन बेस्ड हैन इनोभेसन ड्राइभन इकोनोमी बनायो ।
कृषि - औद्यगिक – सेवा
विश्व अर्थतन्त्रको लय कृषि -औद्यगिक- सेवामा आएको देखिन्छ । अर्थशास्त्री साइमोन कुजेन्टले तीन तत्वले काम गरेको बताउँछन् । जसमा ज्ञानको विनिर्माण, ज्ञानलाई सहज बनाउँदै प्रचार प्रसार गर्नु र सम्पत्ति माथिको अधिकारको संरक्षणले आर्थिक गतिबिधिमा परिवर्तन हुँदै गयो । विश्वमा १७६० देखि शुरू भएको औद्यगिक क्रान्ति सन् १८२० मा धेरै परिवर्तन हुँदै २० औँ शताब्दीमा सम्म चरम शिखरमा पुग्यो । डेनि रोड्रिङक जस्ता अर्थशास्त्रीहरूले संस्थागत विकासका लागि, शहरीकरणका लागि र प्रविधिको द्रुत विकासका लागि औद्यगिकरण हुनु पर्ने मत राख्छन् । पछिल्लो समय भारतले पनि औद्यगिकरणको युगलाई स्किप गर्न सक्ने अनुसन्धाहरूले देखाएका छन् । नेपालमा त झन हाल सम्म कुल ग्राहस्थ उत्पादनमा औद्यगिकरणको एकदमै कम योगदान छन् सेवा र कृषिको तुलानामा । तर यसो भन्दै गर्दा नेपालमा केही पनि उद्योगहरू नखुलेका भने हैनन् ।
नेपालको अर्थतन्त्र कृषिबाट सिधै सेवा क्षेत्रमा ‘सिफ्ट’ भएको देखिन्छ । यसको अर्थ नेपालमा उद्योग नै खुलेनन् भनेको हैन । उद्योग त खुले तर औद्यगिकण नै भएको भने देखिदैन । निर्वाहमुखी कृषि अर्थतन्त्रबाट फेरि ‘निर्वाहमुखी’ सेवामा प्रवेश गरेको देखिन्छ । नेपालमा उद्योग खुलेको सन् १९३० पछि हो । त्यतिबेला विश्वमा आर्थिक मन्दी आएको थियो । अर्थशास्त्री जेएमस किन्सले राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पना गरेका थिए । उनको अनुसन्धान लागू भयो पनि त्यसपछि राज्यले धेरै क्षेत्रमा लगानी बढाउन थाल्यो। स्वतन्त्र बजार रहेन ।
सरदार भीम बहादुर पाँडे ‘त्यस बखतको नेपाल’ भाग २ र ३ पुस्तक अनुसार बहादुर शमशेर र सुब्बा गुँजमान युरोपबाट भर्खरै फर्केका थिए। उनीहरू परिषद्का अध्यक्ष र सचिव भएर नयाँ कम्पनी र बैंक कानुन बनाए। त्यही ऐन अन्तर्गत १९९४ सालमा नेपाल बैंक लिमिटेड, चिनी, सुती कपडा, जुट मिल, नेपालमा खानी खोज्ने कम्पनी, कागज बनाउने कम्पनी, धन्वन्तरि निकेतन, साबुन र तेल प्लाइउड र बबिन,फ्रेमर फर्निचर काष्ठ कार्यालय जस्ता २९ वटा लिमिटेड कम्पनी खुल्दै गए।
मौद्रिक स्थिति औद्योगिकीकरणको निम्ति चाहिने आर्थिक लगानी तथा व्यापारिक क्षेत्रमा समेत विविधीकरण हुनुपर्ने उनले बुझेका थिए। १९९० देखि नै आर्थिक सुधार नगरीकन पुरानै शैलीले चल्न सक्ने अवस्था पनि थिएन। राजनीतिक चेतना बढिरहेको थियो। बदलिँदो राजनीतिक परिस्थितिको भेललाई त्यति बेलाको सत्ताले थेग्न सकिरहेको थिएन। राज्यको आयआर्जनको बाटो समेत बदलिँदै थियो। सिंहले त्यति बेलाका प्रधानमन्त्री जुद्ध शमशेरसमक्ष बैंक खोल्दा औद्योगिक विस्तार हुने र सिँचाइका लागि बैंक चाहिने सुझाव दिए। जुद्ध शमशेर उनको कुरामा सहमत भए।
अनि १९९४ कात्तिक ३० मा नेपालको पहिलो बैंक खुल्यो, नेपाल बैंक लिमिटेडको नाममा।पहिला नै नेपाल कम्पनी कानुन थियो नै। त्यही कानुन अन्तर्गत विराटनगर जुट मिल खुलेको थियो। त्यही कानुन अनुसार नेपाल बैंक ऐन बन्यो र त्यही कानुन अनुसार नेपाल बैंक लिमिटेड खुल्यो। पञ्चायत कालमा राजा महेन्द्रले पनि राज्यबाट नियन्त्रित उद्योगलाई नै प्राथामिकता दिए । उनले दर्जन भन्दा बढि उद्योगहरू खोलेका थिए । धागो, कागज, टायर,कपडा, चिनि,चुरोट जस्ता कारखानाहरू थिए । तर ति उद्योगहरू समय अनुसार नवप्रवर्तनमा ध्यान दिन सकेनन् कालान्तरमा ति घाटामा गए र बन्द भए ।
सातौँ अध्यायमा लेखक त्रयले ‘क्यान वी बाइपसा इन्ड्रस्टिलाइजेशन’ भनि व्याख्या गरेका छन् । उनले औद्यगिकरणलाई स्किप गर्दा पनि आर्थिक वृद्धिदर हुने मत राखेका छन् । सेवा क्षेत्र वातावरण मैत्री हुने हुँदा कार्वनडाइअक्साइड उद्योगले भन्दा ४ गुणा कम फाल्छ जुन वातावरणमैत्री समेत भयो । वातारण मैत्री पनि हुने र आर्थिक वृद्धिदर पनि हुने उनको तर्क छ ।
यसैमा नेपाल तर्फ हेरौँ, नेपालमा जेन्जी विद्रोह पछि अर्थतन्त्रमा ठूलो धक्का खोजेको छ । वर्तमान सरकारले इमिटेशन बेस्ड इकोनोमि अर्थात कपि गरेर उत्पादन गर्ने अनि अविस्कारका लागि आधार तय पार्दै तिब्र आर्थिक वृद्धिदर बनाउन सक्छन् । न त औद्यगिकरणमा जान सक्ने न आफैँ नवप्रवर्तन गर्न सक्ने यसरी आर्थिक विकास हुन्न यो त अन्त गएर काम गर्ने सामान उनीहरूकै देशमा किनेर पैसा उतै पठाउने अर्थतन्त्रले देश विकास हुन सक्दैन ।
वातावरण मैत्री दिगो विकास
लेखक त्रयले अध्याय ९ मा ‘ग्रिन इनोभेनस एण्ड सस्टेनेबल ग्रोथ’ बारे व्याख्या गरेका छन् । ग्रिन इनोेभेसनले जीवनस्तर सुधार्ने,जलवायु परिवर्तनका बाबजुत जीवनको गुणस्तरलाई सुधार्छ । नवप्रवर्तनहरू सबै वातावरणमैत्री हुँदैनन् । प्रदुषणकारी प्रविधि पनि हुन्छन् जसलाई वातावरण मैत्री तिर लैजानु पर्छ । अमेरिकार र इरान बीच युद्ध हुँदा अहिले फोसिल फ्युलको भाउ बढेको छ । नेपाल सरकारले पनि पेट्रोल डिजेल बाट चल्ने गाडिलाई बिजुलीमा ढाल्ने प्रयास गर्दै छ । प्रदुषणकारी प्रबिधिलाई वातावरण मैत्री समेत बनाउन सकिन्छ ।
अर्थशास्त्री त्रयले यि सबै काम गर्न राज्यले हैन निजि क्षेत्रलाई नै दिनु पर्ने तर्क गर्छन् । प्रदुषणकारी प्रविधिको लागि कार्बन कर लगाउने र हरित नवप्रवर्तनका लागि अनुदान दिने गर्नु पर्ने तर्क ग्छ । प्राकृतिक ग्यासले कार्वनडाइअक्साइड घटाउँछ । नागरिक समाजले हरित प्रविधि नवप्रवर्तनमा प्रेरित गर्नु पर्छ ।
मूख्य गरी ग्रिन इनोभेसनले हाम्रो गुणस्तरिय जीवनयापनका लागि र ग्लोबल वार्मिङ कम गर्न काम गर्छ त्यस्तै वातावरण मैत्री नवप्रवर्तन त हुनै पर्छ नै राज्यले कार्वन ट्याक्स कार्वन ट्यारिफबाट आम्दानी बढाउन सक्छ र नागरिक समाजले सरकारलाई र उद्यमीहरूलाई यस कुरामा दबाब दिन सक्छन् ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा पर्छ । नेपालले उर्जाका लागि विद्युतमा लगानी बढाउने र हरित पर्यटनका लागि पर्यटकसँग थप शुल्क लिन सक्छ । जुन शुल्क ग्रिन इनोभेसनमा अनुदान दिन सहयोगी बनोस् ।
किन सबै देशले नवप्रवर्तन गर्न सक्तैनन् ?
अमेरिकाले आइफोन बनाउन सक्ने नेपालले किन नसक्ने ? चीनले विकास गर्न सकेको इलेक्ट्रिभ भेहिकल नेपाल आफैँ किन उत्पादन गर्न सक्तैन। यसमा संरचनागत कुराहरू बुझ्नु पर्ने हुन्छ । १० औँ अध्यायमा “इनोभेसन: विह्याइन्ड दि सिनमा” अर्थशास्त्री त्रयले प्रत्येक व्यक्तिले उस्तै खाले अवसर पाउन नसकेका कारण सबै देशले नवप्रवर्तन गर्न नसकेको बताएका छन् । उनीहरूका अनुसार देशको आर्थिक अवस्था, सामाजिक वातावरण, परिवारको आम्दानी, शिक्षाको स्तर जस्ता कुराले प्रभाव त पार्छ नै सँगै आन्तरिक क्षमता जस्तै काम गर्न सक्ने खुबी र चलाखीपन पनि कति छ भन्नेले भर पार्छ । त्यस्तै नवप्रवर्तनमा कति लगानी भएको छ भन्नेले पनि भर पार्छ । सबै नवप्रवर्तन बन्न नसक्नुका कारण वित्तिय अभाव,ज्ञानको अभाव, संस्कृतिको अभाव, अभिभावकको क्षमता र आइक्युको प्रत्यक्ष प्रभाव वारेको हुन्छ । त्यस्तै पोषणयुक्त खाना कस्तो छ भन्नेले झन ठूलो प्रभाव पार्छ । शिक्षामा सार्वजनिक लगानी र अन्वेषणमा अनुदान कुराले इनोभेसनमा प्रभाव पर्छ ।
ज्ञान यसै उत्पादन हुँदैन । जसमा एकेडेमिक स्वतन्त्रता त हुनै पर्छ नै बेसिक रिसर्च र अप्लाइड रिसर्चमा समेत लगानी हुन जरूरी छ । त्यस्तै विद्यार्थीलाई विद्यालयहरूले ज्ञानको हस्तान्तरण गरेर आधारभूत तहमा नै काम गर्न सक्छन् । विश्वविद्यालयहरूमा आधारभूत अनुसन्धानका लागि आवश्यक शैक्षिक स्वतन्त्रता र खुलापन चाहिन्छ भने अप्लाइड रिसर्चहरू कम्पनिहरूमा हुन्छन् । प्राथमिक तहको शिक्षानै गुणस्तर बनाउन सक्दा फिनल्याण्डले नवप्रवर्तनको क्षेत्रमा काम गर्न सकेको हो ।
नवप्रवर्तनले दीर्घकालिन फाइदा गरेपनि अल्पकालिन भने स्वास्थ्यमा असर गरेको देखिन्छ । इनोभेसनले व्यक्तिको हैसियत घट्न सक्छ तनाब बढ्न गइ स्वास्थ्यमा असर पर्न सक्छ । अमेरिकामा यो समस्या देखिएपनि डेनमार्कमा भने यो समस्या देखिएको थिएन । अध्याय ११ मा ‘क्रिएटिभ डिस्ट्रक्सन हेल्थ एण्ड ह्यापिनेस’ मा क्रिएटिभ डिस्ट्रक्सनले औषधी र उपचार क्षेत्रमा क्रान्ति नै ल्याएको जसले गर्दा उपचार हुने हुँदा प्रतिव्यक्ति आयु बढेको देखिन्छ । कोभिड १९ ले के देखाउँछ भने उच्च स्तरिय स्वास्थयको पहुँच सबैलाई पुग्नु पर्छ त्यस्तै दोस्रो गरिबिको दुष्चक्रबाट सबैलाई निकाल्नु पर्छ र तेस्रो संस्थाका कामदारलाई व्यक्तिगत सिपमा जोड दिनुपर्छ जस्ले गर्दा उनीहरू प्रोफेसनल बाटोमा अघि बढ्न सकुन् । राज्यले काम गुमिहालेमा उसको बिमाका लागि काम गर्नु पर्छ भने संस्थाले शिक्षा र नवप्रवर्तनमा लगानी गर्नु पर्ने उनको जोड छ ।
भुकम्प, कोभिड-१९ र जेन्जी विद्रोह पछि नेपालमा धेरै मान्छे बेरोजगार भए । बेरोजगारी पनले धेरैलाई तनाब बढाएको छ । जसका कारण हत्या हिंसाका घटना बेरोजगारी भएकै कारण घटेका उदाहरणहरू पनि छन् । के नेपाली राज्यलाई कुनै एक क्षेत्र मासिदा त्यस क्षेत्रमा काम गर्ने व्यक्तिको स्वास्थ्य स्थिति र खुशी मापन गर्न सक्छ ? अनि कुनै पनि क्षेत्रमा काम गर्नेको विमा र कम्पनिहरूले व्यक्तिगत दक्षता अभिवृद्धिका लागि लगानी एकदमै कम गरेको देखिन्छ ।
नवप्रवर्तनका लागि कस्ले गर्छ लगानी ?
सन् १९६० मा अमेरिकाले फरक -फरक उद्देश्यका अनुसन्धान केन्द्रमा लगानी गरेको थियो । NSF,NIH र NASA मा लगानी गर्यो । जसबाट उसले वैज्ञानिक अविस्कारहरू स्वास्थय सम्बन्धिका अविस्काहरूका सन्दर्भमा आफू अब्बर रह्यो ।
कालान्तरमा विभिन्न देशहरूले पनि अनुसन्धान केन्द्रहरू खुले पञ्चायतकालको आखिरि तिर त्रिभुवन विश्वविद्यालयमा आर्थिक सम्बन्धी सेडा, समाज विज्ञान सम्बन्धी सिनास विज्ञान सम्बन्धी रिकास्ट र शिक्षा सम्बन्धी समेत अनुसन्धान केन्द्रहरू खुलेका देखिन्छन् । तिनले त्यतिबेलाका सरकारलाई आ- आफ्नो क्षेत्रमा योगदान दिएका थिए । त्यतिबेला उत्पादन भएका ज्ञानहरू अहिले पनि उत्तिकै बलिया छन् तर यसले पछि दायरा फराकिलो बनाउँदै लैजानु पर्दथ्यो तर पछिका सरकारले अन्य संस्थाहरू खोलेर यि केन्द्रहरूलाई केन्द्रकै रूपमा सिमित गरिदिए । यद्यपि अनुसन्धान केन्द्रहरू अहिले पनि खुलिरहेका छन् ।
इनोभेसनका लागि राज्यले मात्रै लगानी गरेर सक्दैन । अध्याय १२ मा ‘फाइनान्सिङ क्रिएटिभ डिस्ट्रक्सन’मा लेखक त्रयले कम्पनि र परियोजनाहरूसँग मिलेर काम अनुसन्धानमा खर्च गर्नु पर्ने बताउँछन् । उनीहरूका अनुसार अनुसन्धान कर्तालाई मेन्टर गाइडेन्स र टेक्निकल सहयोग समेत गर्नु पर्छ जसबाट आइडियालाई उत्पादनमा बदल्न सघाउ पुग्छ । जसका लागि भेन्चर क्यापिटलहरूले लगानी गर्न सक्छन् । उनीहरूले उच्च जोखिम मोलेर उच्च नाफा खोजिरहेका हुन्छन् ।
राज्यको भूमिका नै हुँदैन भन्न खोजिएको भने हैन । सकारले नीतिगत काम गर्ने शुरूमा अनुसन्धानका लागि रकम भेन्चरहरूबाट लिने जसका लागि सरकारका नीतिहरूले सहयोग गर्ने खालका हुनुपर्छ ।
वित्तिय प्रणालीले नवप्रवर्तनमा प्रत्यक्ष प्रभाव पार्छ । अमेरिकाले अनुसन्धानमा लगानी गरेर निकै फाइदा लिएको हो । उनीहरूले पावरफूल नेटवर्क समेत बनाएका हुन् उदाहरणका लागि संस्थागत लगानीकर्ता भेन्चर पूँजीपतिहरू यसमा दक्ष पनि थिए ।
संरक्षणकी नवप्रवर्तन !
नेपालमा उद्योगहरूको केही साझा समस्या छन् । पहिलो क्षमता भन्दा कम उत्पादन हुनु दोस्रो भारतिय उत्पादनसँग महंगो हुनु । यस किताबले ‘हाउ टू म्यानेज ग्लोबलाइजेशनमा’ व्याख्या गरेको छ । अर्थशास्त्रीहरूले यस्तो अवस्थामा आयतमा कर बढाउने र घरेलु कम्पनिहरूलाई अझ बढि इनोभेटिभ बनाउन प्रोत्साहित गर्ने र विशेष गरी अनुसन्धान र विकास अनि लगानीलाई अनुदान दिन सुझाउँछन् ।
पहिलो कम्नपनिहरूले अन्तिम उत्पादन बढाउने क्रममा कच्चा पदार्थ आयत गर्नु पर्ने हुन्छ सबै प्रकारका बस्तुहरूमा आयत कर लगाउँदा उत्पादनको लागत बढ्नु पर्ने हुन्छ । जसका कारण उत्पादनको मूल्य बढाउनु पर्छ भने उपभोक्ताको क्रय शक्ति घट्छ र बजारको आकार समेत सानो बनाउँछ । उदाहरणका लागि नेपालले भारतबाट ल्याउने कपडामा कर लगाउन सक्छ नेपालले तर कच्चा पदार्थमा लगाइएको करले उत्पादनको लागत बढाएर नेपाली कम्पनिलाई नै असर गर्छ । त्यसकारण अझ धेरै इनोभेसन बढाउनुको तुक छैन। देशभित्रकै जनशक्तिले इनोभेसन गर्छन् भन्ने पनि हुँदैन युरोप तथा अमेरिकाले आप्रवासीहरूको ज्ञानको प्रयोग गरेर धेरै नवप्रवर्तनहरूको विकास गरेको हो । उदाहरणका लागि इजरायलमा ‘वाटर प्रोडक्सन टेक्नोलोजी’ आप्रवासरीहरूले नै बनाएका हुन् । अर्थशास्त्री त्रयले संरक्षणबाट होइन नवप्रवर्तनलाई जोड दिन्छन् ।
उदाहरणका लागि कोभिड १९ का बेला जर्मनीमा मास्क भेन्टिलेटर परिक्षण सामाग्री आयत निर्यात बराबर नै थियो तर केही समयमा नै जर्मनीले यि बस्तुहरूको उत्पादक र निर्यातकर्ता देश बन्यो अर्थात स्वास्थयका उपकरणा आफ्नो नियन्त्रणमा राख्न सफल भयो । जर्मनी सरकारले नवप्रवर्तन औद्यगिक नीति र सामाजिक संवाद मार्फत यो प्रकारको सफलता हासिल गरेको थियो ।
राज्य लगानीकर्ताकी बीमाकर्ता
जापानमा विज्ञान भन्दा पनि कन्फ्युसिसको शिक्षा पढाइन्थ्यो । सन् १८७२ मा भने जापानमा ४ वर्षे स्कूले शिक्षा अनिवार्य गरियो । शिक्षकहरूलाई तालिम पनि दिइयो । त १८६५ देखि १९१० सम्म साक्षरतादर बढ्दै गयो । पुरूषको साक्षरतादर ३५ प्रतिशत बाट ७५ प्रतिशत पुग्यो भने महिलाको ८ प्रतिशतबाट ६८ प्रतिशत पुग्यो ।
फ्रान्समा १८८५ मा राज्यले शिक्षामा लगानी गर्यो । शिक्षकलाई तालिम त दियो नै थप ज्याला पनि दियो । १७ हजार ३ सय २० स्कूल थपिए,५ हजार ४ सय २८ स्कूल ठूला बनाइयो भने ८ हजार ३ सय ८१ स्कूललाई पुननिर्माण गरियो । र, फ्रेन्चका बालबालिकालाई सित्तैमा शिक्षा पनि दियो ।
अमेरिकाले डिफेन्स एडभान्सड रिसर्च प्रोजेक्ट एजेन्सीले नवप्रवर्तन विकास गर्छ । डार्पाको स्थपना रसियाको पहिले कृत्रिम स्याटेलाइट अन्तरिक्षमा पुगेपछि भएको थियो । अब समय बद्लिएको छ राज्य बाहेक अन्य संस्थाले पनि गर्न सक्छ । अन्तराष्ट्रिय प्रतिष्पर्धाले राज्यलाई लगानीकर्ताको रूपमा उभ्याउँछ । राज्यले सार्वजनिक शिक्षा प्रणालीमा लगानी गर्नु पर्छ । ठूलो आर्थिक संकटले राज्यलाई नागिकहरूको बिमाकर्ता बनाउन सक्छ । सन् १९२९ मा र कोभिड १९ को संकटमामा बिमित बनाउँछ । राज्यले संकटको बेलामा विमा गर्न जरूरी हुन्छ ।
सरकारले व्यक्तिगत जोखिम, सामाजिक सुरक्षा, सार्वजनिक स्वास्थ्य सेवा र पारिवारिक भत्ता लगायतमा सरकारले लगानी गर्ने हो । सन् १९८० पछि विश्वव्यापीकरण शुरू भयो । आर्थिक स्वतन्त्रता प्लस नवप्रवर्तन पनि शुरूवात भयो । एकात्मक अवस्थामा समेत चीनले यहि बेला देखि आर्थिक स्वतन्त्रता अप्नाएको थियो । देङ सियायो पिङले यसको नेतृत्व गरेका थिए ।
सरकारले अत्याधिक नियन्त्रण गर्न सक्दैन चेक एण्ड ब्यालेन्स, मिडिया श्रमिक संघ गैरनाफामुलक संस्था नागरिक समाज लगायतले शक्तिको दुरूपयोग गर्न रोक्न सक्छ ।
फेरि नेपाली राज्यको कुरा हेरौँ राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.२ प्रतिशत पुगेको छ भने जसमा पुरुषको ८३.६ प्रतिशत र महिला साक्षरता दार ६९.६ प्रतिशत रहेको देखिन्छ । सय वर्ष अघि जापानको शिक्षा र नेपालको अहिलेको शिक्षाको अवस्था उस्तै छ यसले पनि नेपालको प्रवर्तनको स्थिति देखाउँछ ।
अन्त्यमा,
मन्टेसक्यु १७४८ मा नै शक्ति पृथकिकरणको सिद्धान्त प्रतिवादन गरेका थिए । त्यसपछि संविधानबादका धारणाहरू विकसित हुँदै आए । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र राख्दानै नवप्रवर्तन हुने उनको तर्क छ । बलियो सरकार तर हस्तक्षेपकारी भने हुनुहुँदैन । पूर्ण प्रेस स्वतन्त्रता, गैरनाफामुलक संस्थाहरू, नागरिक समाज र राज्यका अंगहरूको आपसी काम र खबरदारीले नै नवप्रवर्तनमा टेवा पुग्ने उनको तर्क छ ।
यस पुस्तकले धनी देशहरू र केही प्रविधिले क्रान्ति गरिरहेका देशहरूको उदाहरण दिदैँ कसरी सम्मनुत देश बन्छ भनेर व्याख्या गर्छ तर नेपालजस्तो देशले कसरी अघि बढ्ने भन्ने चाहि सिकाउँदैन । नवप्रवर्तनका लागि चाहिने दक्ष तथा अदक्ष जनशक्ति पलायन हुनु, रेमिटेन्समा आधारित अर्थतन्त्र हुनु, निर्वाहमुखी कृषि हुनु, जातिय तथा लैंगिक विभेद रहिरहेका देशले बाटो कसरी पहिल्याउने भन्ने स्पष्ट छैन । प्रा: य स्वतन्त्र बजारका पक्षपाति अर्थशास्त्रीहरूको मूल समस्या नै संरचनागत विभेदबारे बहश गर्दैनन् । यस पुस्तकमा पनि संरचनागत पिँधमा रहेको समूहलाई कसरी माथि लैजाने भन्ने बारे प्रष्ट आधार छैन ।
https://ukeraa.com/news/detail/163160/
https://ukeraa.com/news/detail/153273/
https://ukeraa.com/news/detail/170703/
https://nepallive.com/story/225664
Dahal, M. P., & Rai, H. (2019). Employment intensity of economic growth: Evidence from Nepal. Economic Journal of Development Issues, 28(1-2), 34–47.
Dhakal, C. P. (2022). A glimpse of industrialization in Nepal: Reality and challenges. Interdisciplinary Journal of Management and Social Sciences, 3(1), 37–46.
Joshi, B., & Adhikari, G. M. (2024). Navigating Nepal’s economic landscape in South Asia. Journal of Business and Social Sciences.
Khatri, M. B. (2018). Industrial development in Nepal: Problems and prospects. Economic Journal of Nepal, 41(3-4), 25–40.
Khatri, M. B. (2020). Impact of industries on economic growth in Nepal. Economic Journal of Nepal, 43(1-2), 63–79.
Mainali, P. K. (2018). Productivity and growth of manufacturing industries in Nepal. Economic Journal of Nepal.
Nepal, G. (2024). Industrial development in Nepal: Challenges and opportunities. State, Society and Development, 2(1), 73–83.
Paudel, M. N. (2016). Prospects of agriculture industrialization in Nepal. Agronomy Journal of Nepal.
Comments
Post a Comment