बौद्ध मार्गीको अष्टमहास्थान केही कथ्य केही तथ्य- ज्ञानको प्यासले बुद्ध बनेका राजकुमार सिद्धार्थ
प्रजु पन्त
त्यो कुनै मामुली त्याग थिएन।
कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले सदाको लागि राजसुख त्याग्दै थिए ।राजसुख मात्रै होइनछोरा राहुल लिएर निदाइरहेकी श्रीमती यशोधरा,बुबा शुद्धोदन र कान्छी आमा प्रजापतीलाई समेत त्याग्दै थिए।
कपिलवस्तु जस्तो सम्पन्न राज्य सदाको लागि त्याग्नु सानो कुरा थिएन । किनभने शुद्धोदन पछि राजा उनै हुने थिए ।
सत्ता र सुखको लागि आज मात्रै होइन बुद्धकालमा पनि युद्ध हुन्थयो नै तर ज्ञानको भोकले तिर्खाएको ‘भोकोलाई’ सत्ताको के मतलव ?
ज्ञानको प्यासले सम्पत्ति सुख, यौन सुख, शत्ती सुख, सम्बन्ध सुख उनका लागि फिक्का फिक्का हुन थालेको धेरै भइसकेको थियो ।
अन्तत भब्य दरबारको सुखसयल छाडेर सिद्धार्थ गौतम दक्षिण तिर हानिए । त्यतिबेला न त नेपाल भन्ने देश थियो न त भारत भन्ने देश नै । त्यतिबेला त कपिलवस्तु भन्ने ठूलो राज्य थियो ।सिद्धार्थ गौतम त्यही देशका राजकुमार थिए अथार्त हुने वाला राजा ।
यो एक शताब्दी दुई शताब्दी अघिको कुरा होइन । आजभन्दा झण्डै २६ सय वर्ष अघिको कुरा हो । राजा शुद्धोदन तत्कालिन गणराज्य कपिलवस्तुका राजा थिए । सुत्केरी हुने वाला थिइन् रानी मायादेवी । सुत्केरी हुने दिन नजिकिदै गर्दा मायादेवी लुम्बिनी गइन् सुसारेसहित । लुम्बिनीमा उनलाई सुत्केरी व्यथा लाग्यो त्यहि जन्मिए सिद्धार्थ गौतम ।
सिद्धार्थ गौतम जन्मिएको ७ दिनमा मायादेवीको मृत्यु भयो । जन्मदिने आमाको मातृत्वमा हुर्कन पाएनन् सिद्धार्थ । तर कान्छी आमा प्रजापतिले उनलाई आमाको अभाव हुन दिइनन् ।
राजसीठाँटका साथ सुखसयलमा हुर्केका गौतम बुद्धले यशोधरासँग विवाह पनि गरे । छोरा पनि जन्माए । जसै २९ वर्ष पुगे उनलाई ज्ञानको प्यासले यति लखेट्यो की राज्य नै छाडे ।दक्षिण तिर हानिएका सिदार्थ गौतम मगध राज्य पुगे।
०००
शान्तिका दूत भनेर निरन्तर पढ्दै आएको हाम्रो पुस्ताले ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्दै घोक्रो फुटाउने गरी बोलिरहेकै छ ।
बुद्ध हालको नेपालमा जन्मिए, कुनै दुई मत रहेन तर बुद्ध को हुन् यिनको ज्ञानको अहिले कति सान्र्दभिकता ?साच्चै, सिद्धार्थ गौतमबाट बुद्ध चाहिं कसरी बने ?बौद्ध धर्म दक्षिणबाट उदाएर उत्तर तिर कसरी सर्याे ?नेपालको दक्षिणि भेगमा भन्दा उत्तरी भेगमा किन बौद्ध धर्म फैलियो ?
मन भरी प्रश्न सहित २०८० पुस ७ गते ‘बुद्ध सर्किट’ अध्येता बसन्त महर्जन, विपश्यना साधक एवंम बुद्धका अनुयायी भेषराज मानान्धरको साथमा ३० जनाले पछ्याइयो। ३० जनामा अधिकांश विपश्यना ध्यानका साधक थिए ।
चर्चामा नआएको पर्साको विरगञ्जमा पर्ने भिस्वा स्तूपबाट हाम्रो यात्रा शुरु भयो अनि बुद्धको अस्तु रहेको स्थान रामग्राम आएर अन्तय भयो। यात्रा त अन्तय भयो तर बुद्ध प्रतिको जिज्ञासा घटेन अरु बढ्यो । बुद्धलाई पढ्दा लाग्छ उनी दार्शनिक हुन्, ध्यान सम्बन्धी उनको विधिलाई हेर्दा लाग्छ बुद्ध मनोविद् हुन्, बुद्धको व्यवहार पढ्दा लाग्छ बुद्ध शान्तिका पर्याय हुन्, जात व्यवस्थालाई नमान्दा लाग्छ बुद्ध समाज सुधारक हुन्, प्रचलित मुल्य मान्यतालाई ठाडै चुनौती दिएको उनको धर्म देशना पढ्दा लाग्छ बुद्ध क्रान्तिकारी हुन् अनि अन्तिममा चस्स हुन्छ महिलालाई सहजै भिक्षुणी किन बनाएनन् ? झन चस्स हुन्छ, बुद्धले महिलालाई भिक्षुणी नबनाए हजार वर्ष बनाए ५ सय वर्ष मात्रै धर्म टिक्ने बताएको कुराले। अनि अर्काे भिक्षुणिले भिक्षुले भन्दा १ सय नियम बढि मान्नुपर्ने कुराले । अनि लाग्छ सम्पूर्ण हुनबाट बुद्ध चुके ।
माथिका प्रश्नको ज्ञान कति भेटियो आफ्नै ठाउँमा छ तर यस लेखको उद्देश्य बुद्ध पुगेका स्थान र त्यस स्थानसँग जोडिएको तथ्य र कथ्य प्रस्तुत गर्नु हो सँगै अहिलेको अबस्थाबारे पनि ।
०००
ज्ञानको प्यास मेटाउन सिद्धार्थ गौतम मगध राज्य तिर लागे । बौद्ध धर्मका अध्येता बसन्त महर्जनका अनुसार मगध (अहिलेको राजगिर ) त्यति बेला अन्यभन्दा बढी वैचारिक स्वतन्त्र भएको राज्य थियो। त्यसैले सिदार्थ उतै लागेका थिए ।
ज्ञानको प्यास मेटाउन कसिलो समाजमा भन्दा स्वतन्त्र समाजमा नै सकिन्छ भन्ने उनलाई थाहा थियो ।त्यसैले त नजिक अरु राज्य हुँदा हुँदै पनि मगध नै रोजेका थिए सिद्धार्थले ।
मगध देशका राजा बिम्बिसारले सिद्धार्थ गौतम बारे सोधखोज गरे । उनले आफू कपिलवस्तुको देशको राजकुमार भएको र ज्ञानको खोजीमा मगध आएको बताए । बिम्बिीसारले उनको ठूलो श्रद्धा गरे ।
मगध राज्यमा पुग्नुअघि नै अर्थात् कपिलवस्तुको सीमा पार गरेर राजसी लुगाहरु साथमा आएका सहयोगी छन्नलाई दिई फर्काइसकेका थिए । अनोमा नदीको किनारमा आफ्नो कपाल आफैंले काटी प्रवजित भए। कोही एक सन्यासीले दिएको चीवर लगाई सकेका थिए । राजा बिम्बिसारले उनलाई गृहस्थ जीवनमा नै फर्काउन चाहेका थिए तर मानेनन् । ज्ञानको खोजीमा लागेका कारण विचलित हुने कुरा पनि भएन।
राजाले पनि ज्ञान प्राप्त गरेपछि धर्मउपदेश गर्न निमन्त्रणा पनि गरे । उनले तत्कालिन समाजमा नाम कहलिएका दुई विद्वानलाई क्रमैसँग भेटे, आलारकालम र अर्काे उद्दकराम पुत्र । तिनीहरुसँग जति ज्ञान थियो सिद्धार्थले सबै ग्रहण गरेर लिए तर उनलाई त्यतिले उनको चित्त बुझाउन सकेन । तिनीहरुको संघ सम्हाल्न प्रस्ताव पनि पाएका थिए तर त्यो प्रस्ताव पनि स्वीकारेनन् बरु स्वतन्त्र नै भएर हिड्न थाले ।
०००
ज्ञानको भोकमा भौतारिएका सिदार्थ गौतम बोधगया क्षेत्रमा पुगे । बोधगया नजिकै रहेको ऊरुबेला अलि उचाईंमा रहेको स्थानमा गएर सिदार्थ गौतम ध्यान बस्न थाले। उनले शरिरलाइ यति दुख दिए की खानाबिना नै झुत्रिएका कपडामा तपस्या गर्न थाले । सिदार्थको करङ प्रष्टै देखिन थाल्यो ।
तपश्याका क्रममा उनले आफ्नो शरीरलाई अत्यधिक मात्रामा तड्पाए । तर ज्ञान प्राप्त भएर बरु कमजोर शारीरिक स्थितिले उनी पछारिए । मृत्युको मुखमा नै पनि पुगे । तप गरिरहेकै बखत बुद्धलाई लाग्यो भोको शरिरलाई दुख दिएर ज्ञान प्राप्त हुँदैन । यसका लागि ध्यान साधना गर्नुपर्ने आवश्यकता बोध भयो । ध्यान साधनाका लागि शरीर बनाउनु पर्दछ, तसर्थ भोजन ग्रहण गर्नतिर लागे ।
सिदार्थ ज्ञानको खोजीमा हिडेको थाहा पाएर कपिलवस्तुबाट ५ ब्राहमणहरु उनको पछि लागेका थिए । बुद्धले खाना खाएपछि ति ५ ब्राह्मणले बुद्धले खाना खाए आफ्नो त्याग तपस्या भंग गर्याे भनेर उछितो मात्रै काटेनन् सिदार्थको साथ पनि छाडे ।
बुद्ध एक्लै ध्यान गरिरहे । पिपलकोबोट मुनि ध्यान गरिरहेको अबस्थामा सुजाता नामकी एक महिलाले खिर दिइन्। उमाकान्त पौड्यालको बुद्धकालिन समाज किताब अनुसार सुजाता सेनानी गाउँकी थिइन्। राम्रो पति र प्रथम गर्भमा पुत्रलाभ गरेको खण्डमा वृक्षदेवतालाई खीर चढाउने संकल्प गरेकी थिइन्।
दुबै इच्छा पूरा भएपछि वैशाख पूर्णिमाको दिन खिर चढाउन वृक्ष वरपर सफा गर्न लगाइन्। वृक्षमुनि सिदार्थ गौतम ध्यान मग्न थिए । दासीले यो कुरा सुजातालाई जानकारी दिइ । त्यसपछि सुजताले बुद्धलाई वृक्षदेवता ठानी खिर चढाइन् सिद्धार्थ गौतमले सुजाताले दिएको खिर ४९ गाँस खाए । अनि निरञ्जना नदि पार गरेर पारी गए।
०००
बुद्धले हाडकरङ नै देखिने गरि तपस्या गरेको साँचो हो । सुजाताले दिएको खिर खाएको पनि साँचो हो तर ति स्थान त्यही हुन् कि होइनन् भन्ने कुरा भारतिय पुरातत्व विभागलाई पनि पत्ता लगाएको छैन। सुजाताले खिर दिएको ठाउँमात्रै तीन चारवटा स्थान देखाए स्थानिय गाइडले । एक भिक्षु समेतले दुई ठाउँ देखाए ।
उरुबेलामा सिदार्थ गौतमले हाडछाला देखिने गरि ध्यान गरेको बुद्धको मुर्ति बनाइएको छ । लुङदारै लुङदारले सुशोभित गरिएको छ तर त्यही का पुजारीले ढुंङगेश्वरी माता रहेको जनाउ दिए । हिन्दुहरु देवता मानेपनि बौद्ध दर्शानार्थीको घुईंचो । भित्र बुद्धको मुर्ति । यस्तो किन त ?
भारतमा अहिले हिन्दुबादीको वर्चश्व छ । सत्ता हिन्दूबादी दलकै छ । उरुबेला पनि हिन्दूहरुकै कब्जामा परेको हो ।
०००
सुजाताले खिर दिएपछि निरञ्जना नदि तरेर पिपलको बोट मुनि ध्यान मुद्रामा रहे सिदार्थ गौतम । ध्यान गर्दा उनलाई बाल्यकालको सम्झना भयो । बौद्धमार्गिका अनुसार ५ वर्षको हुँदा सिद्धार्थ गौतम ध्यान मुद्रामा बसेका थिए । उनले आनापानको सतिको अभ्यास गरेका थिए । ध्यान गरिरहेको बेला नै सिदार्थ गौतमका बुबा सुद्धोदनले सिदार्थ गौतमलाई बन्दना गरेका थिए ।
त्यही ध्यान सम्झेका सिद्धार्थले आनापान सति अभ्यायस गरे। प्रथम ध्यान दृतिय तृतिय चर्तुथ ध्यान गर्दै विपश्याना ध्यान गरिरहे । ज्ञान प्राप्त नभइन्जेल त्यो वृक्षबाट नउठ्ने अठोट गरे ।
त्यही दिन राति जे भयो सिदार्थ गौतम, सिदार्थ गौतम रहेनन् उनी बुद्ध बने । पौड्यालको पुस्तक अनुसार दुःमुक्तिको मार्ग साक्षात्कार गरेर बोधिज्ञान लाभ गरे । उनको चित्त संस्काररहित भएकाले तृष्णा समूल नष्ट भयो। भवसंसरणबाट उनी सधैं मुत्त भए ।
बुद्धले दुःख छन्, दुःखका कारण छन् र यसलाई निर्मुल पार्न सकिन्छ यसका लागि अष्टांगिक मार्गको विकास गरे । वैशाख पूर्णिमा कै दिन जन्मिएका बुद्ध त्यही दिनमा ज्ञान प्राप्त गरे । ज्ञान प्राप्त गरेपछि बुद्धलाई आफूले पाएको ज्ञान अन्यत्र पनि बाड्नुपर्छ भन्ने लाग्यो अनि बुद्ध हिडे ज्ञान बाड्न् !
०००
फेरि अहिलेको बोधगया
बौद्धमार्गीको लागि महत्वको ठाउँ । पुसको ठण्डीमा खुला तालु सहित बौद्ध भिक्षुहरुलाइनबद्ध थिए । शान्त चुपचाप । मोबाइल लैजान नपाइने ।
हाम्रो टोलीले मोबाइल रुममा नै छाडेको थियो। केही वर्ष अघि सम्म मोबाइल लैजान पाइन्थ्यो। बौद्ध मार्गिको आवरणमा जब फोन गरेर भित्र मान्छे बोलाएर बम विस्फोट गराइयो त्यसबेला देखि भने फोन लैजान पाइदैन ।
बोधी वृक्षमा ध्यान गर्न जान्छन् बुद्धका अनुयायीहरु । ध्यान गर्नेलाई मोबाइलको के खाँचो पनि र ?
बोधगयामा आज होइन अध्येता बसन्त महर्जनका अनुसार १३ औँ शताब्दीमा मुसलमानी आक्रमण भएको थियो र स्थानिय राजा भागेर लुक्न जानु परेको थियो । बोधिमण्डप मन्दिरभित्र रहेको बुद्धको विशाल र सुन्दर मूर्तिलाई बडो कठिन र चलाखीका साथ जोगाउनु परेको थियो । त्यस क्षेत्रबाट मुसलमानी शासकहरुलाई धपाउने काम वर्तमान नेपालको जुम्ला जिल्लाको सिंजा उपत्यकालाई राजधानी बनाई बसेको खश साम्राज्यका राजा अशोक चल्लका सेनाहरुबाट भएको थियो ।
खैर ! जोगिएको बुद्धको मूर्तिको बन्दनाको लागि डिसेम्बरको पहिलो हप्तामा भिड थियो । त्यसमाथि तिब्बतका बौद्ध धर्म गुरु दलाई लामा आएपछि भिड त हुने नै भयो ।
बोधगयामा पनि हिन्दूहरुको अत्याक्रमण देख्न सकिन्छ। अब केही कथ्यमा जाऔँ । महाबोधि मन्दिरको अगाडि पञ्चपाण्डवको मन्दिर भनेर पाँच वटा मूर्तिहरु राखिएका छन् तर ती मूर्ति अन्यको नभएर बुद्धका हुन् भन्ने कुरा सजिल्यैसँग चिन्न सकिन्छ । ती मूर्तिहरु यताउता परेका त्यहीँका मूर्तिहरु उठाएर ल्याई पञ्चपाण्डव बनाइएका हुन् ।
हिन्दू धर्मशाष्त्रमा ५ पाण्डवको कथा सुन्न पाइन्छ तर बौद्ध धर्मग्रन्थमा कहि कतै नभएको ५ पाण्डवको कथा कसरी यता आयो ? केही दशकअघिसम्म पनि बोधगयाको यो महाबोधि मन्दिरलाई हिन्दू मन्दिरको रुपमा पूजा गर्ने हिन्दू पण्डितकै कब्जामा थियो । पण्डितले हिन्दू देवताको रुपमा अधिकार जमाएको भएपनि बौद्धहरु त्यहाँ बुद्ध भनेरै श्रद्धा व्यक्त गर्न जान्थे र हिन्दूहरुको कब्जालाई चुपचाप हेरेर फर्कन्थे । बौद्धहरुले ठुलो र लामो समयको आन्दोलन गरेपछि केही सुधार त भयो तर अहिले पनि यसको संचालन गर्ने ट्रष्टमा हिन्दूहरुकै बाहुल्यता पाइन्छ ।
बिहान ढल्कनै लाग्दा भिक्षुको आवरणमा माग्न आउने बोधगयामा उस्तै देखिन्छ। हात पसारेर १० रुपे देदो भन्ने देख्दा जो कोहीलाई दिक्क त लाग्छ नै । साँचो भिक्षुले त हातै पसारेर माग्दैनन् किनभने नगद हातले छुन हुँदैन भन्ने उनीहरुको विश्वास छ ।
ज्ञान बाड्ने बुद्धको प्यास
बोधि (ज्ञान) प्राप्त गरेर अर्थात् बुद्धत्व लाभपछि बुद्ध बनेका गौतम बुद्ध, धर्म उपदेश गर्न ऋषिपतन मृगदावन पनि भनिने सारनाथ गए । साधनाका बेला आफूलाई छाडेर जाने पाँच जना भिक्षु त्यति बेला त्यहीँ बसिरहेका थिए । पाँच ब्राह्मणले बुद्ध आउँदै गरेको टाढैबाट देखे ।
बुद्ध आफू तिर आइरहेको देखेर उनीहरुले आपसमा सल्लाह गरे । तपभ्रष्ट सिदार्थ यता आउँदै छन् हामी कसैले पनि उनको स्वागत नगरौँ । बुद्ध जति जति नजिक आए ५ ब्राह्मणहरुले आफूले गरेको वाचा नै बिर्सिए । आखिर उखान पनि छ फलेको हाँगो ननुहेको कहाँ छ र ? बुद्धको अनुहारमा असिम शान्ति र आँखामा असिम करुणा देखे पछि उनीहरु अडिन सकेनन् । एकले बुद्धले बोकेको पात्रचिवर लिए दोस्रोले आसन ओछ्याए,तेस्रोले खुट्टा धुने पानी राखिदिए ।
बुद्धले आफूलाई बुद्धत्व प्राप्त गरेको र त्यही कुरा भन्न आएको बताएपनि । तर कसैले पत्याएनन्। बुद्ध हार खाने व्यक्ति थिएनन् उनले फेरि भनेँ, यस अघि मैले कहिल्यौ दावी गरेको थिइन् अहिले गरेको छु । केही न केही भएर त होला नी । बुद्धले यति भनेपछि पाँच ब्राह्मणले उनको कुरा सुन्न राजी भए ।
उनको उपदेश शुरुमा कौण्डिन्यले बुझे । त्यसपछि अन्य चार जनाले बुझे । चारै जना प्रवजित भई भिक्षु बने । त्यपछि काशीका सेठपुत्र यशकुमार र उनका पचपन्न जना साथीहरु गरी जम्माजम्मी ६० जना भिक्षु भए । उनी समेत गरेर भवचक्रभञ्जन गर्ने अरहन्तको संख्या ६० पुगेपछि बुद्धले सबैलाई एकै ठाउँ नबस्न यो ज्ञान बाड्न चारै तिर फैलन सल्लाह दिए । बुद्ध आफू भने मगध राज्य तिर लागे ।
०००
नेपाल र भारतका धार्मिक स्थलहरुमा ‘माग्ने’ कुरै नगरौँ । गरिबिले आक्रान्त भएर गरिखाने बाटो नै नभएपछि माग्नु स्वभाविक हो तर धार्मिक स्थलमा सरसफाइ काम गर्ने चौकीदार गर्नेले समेत ‘१० रुपैँया देदो’ भन्दै माग्नु चाहिं वाक्कै लाग्ने । यो ठाउँमा पनि माग्नेले छाडेनन् । पत्रकार राजेन मानान्धरले हाँसोमा भने, ‘माग्नेको राजधानी आउने अनि माग्ने धेरै भएर हुन्छ?’
सारनाथमा बुद्धले पहिलो प्रबचन दिएको स्थान उनको बिहार र अन्य भिक्षुहरुको अध्ययन कक्ष र बिहारहरुको अबशेष अहिले पनि देख्न सकिन्छ। बौद्ध बिहारको समान विशेषता के देखियो भने एक भिक्षुको लागि एक कोठा, पानीको लागि इनार, सामूहिक ध्यान गर्नको लागि छुट्टै बिहार । सारनाथको ठूलो क्षेत्र ओगटेको यस क्षेत्रमा बुद्धले ज्ञान बाडेको थिए भन्ने अबशेष पत्ता लगाउने अंग्रेजहरु नै थिए ।
उपनिबेश हुनु स्वतन्त्र राष्ट्रको लागि सैह्य कुरा त होइन तर जति ऐतिहासिक उत्खनन् भएका छन् त्यो भने साह्रै नै सराहनिय देखिन्छ।
०००
मगधमा बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक जाँदै थिए बुद्ध । बुद्ध जहाँ जान्थे पैदल नै जान्थे ।
मगध राज्य पुगेपछि त्यहाँका राजा बिम्बीसार बुद्ध प्रति अनुग्राहित मात्रै भएनन् पूरै प्रभावित थिए । त्यसपछि बिम्बीसारले बाँसैबाँसले भनेको बिहार बेणुवन विहार उपहार पनि दिएका बुद्ध त्यहाँ केही समय बसे पनि । बुद्ध मगधमा पुग्नु अगावै बाटोमा तीन जटिल ब्राह्मण दाजुभाईसहित उनका हजार शिष्यहरुलाई बौद्ध भिक्षु बनाइसकेका थिए । ती जम्मैलाई मगधमा लिएर गएका थिए । त्यही भिक्षु संघमा बसी राजा बिम्बिसारले बुद्धबाट पहिलो पल्ट धर्म उपदेश सुनेका थिए । र श्रद्धाले विहार दान गर्नुका साथै बुद्धको आजिवन उपासकका रुपमा समर्पित भएका थिए ।
अहिलेको बेणुबन!
वेणुबनको अबशेष अहिले रहेपनि बाँसको कुनै बिहार भेटिदैन। सिद्धार्थ गौतम बुद्ध बनिसकेपछि ध्यानका विभिन्न मुद्रामा बुद्धका मुर्ति बनाइएको छ । बुद्धले प्राप्त गरेको पहिलो बिहार पार्कमा परिणत भएको छ । पार्कमा जानेले बुद्धको मुर्ति सित साक्षत्कार गर्दै नाचिरहेको पनि देखियो ।
अझ सबैभन्दा रमाइलो कुरा त गेटमा टिकट काट्ने बेला नै कर्मचारीले यस्तो रुढ व्यवहार देखाएकी टेबल माथि गोडा राखेर नै हाम्रो टिकट काटिदिए । बुद्धभूमि अनि अनुशासन हिनता अलि नपचेको हो की !
०००
चमत्कार नदेखाउँदा बुद्ध माथि नै प्रश्न
परम्परागत मूल्य र मान्यतालाई चुनौती दिदै कडा तपस्या भन्दा पनि चित्त शुद्धिबाट ज्ञान प्राप्त हुने बुद्धको दावी रहन्थ्यो। शरिरलाई दुख दिएर जप तपमा लागेकाहरुले बुद्धलाई ढोँगीको उपमा दिन्थे ।
ध्यानी भएर पनि चमत्कार नदेखाएको भनेर हेयको भावले बोल्थे ।अरुले हेयको भावले हेरेपनि गालि नै गरेपनि बुद्ध कहिल्यै क्रुद्ध हुँदैनथे ।
गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि जम्मा ४५ वर्षावास बिताए । त्यसमध्ये २५ वर्षावास कोशन राज्यको श्रावस्तीमा मात्रै बिताएका थिए । त्यही श्रावस्ती वरपर अंगुलीमाल भन्ने एक व्यक्तिले आतंक फैलाएका थिए । अंगुलीमालले जो भेट्यो उसैलाई काट्ने गरेका थिए ।
अंगुलीमालले गुरु दक्षिणाको लागि मान्छे काटेको थाहा हुन गयो। अथार्त अंगुलीमाल एक तिक्ष्ण शिष्य थिए । गुरुले हजार जनालाई काटेर औँलाको माला लगाएपछि मात्रै उसको शिक्षा पूरा हुने बताएपछि अंगुलीमालले दोबाटोमा मान्छे काटेको थियो।
अंगुलीमालको यो आतंक साम्य पार्न बुद्ध त्यही दोबाटो हँुँदै हिडे । अंगुलीमालले गुरु दक्षिणा पाउन अब धेरै मान्छे काट्न बाँकी थिएन ।बुद्धलाई देखेर ऊ खुशी भयो ।
बुद्ध नडराइकन नजिक गएको देखेर केही बेर त अंगुलीमाल झस्कीयो पनि । अंगुलीमालले क्रुद्ध हुँदै बुद्धलाई काट्न तम्सियो । जब बुद्धको नजिक गयो उसले काट्न सक्ने कुरै आएन। बुद्धको अनुयायि पो बन्यो अंगुलीमाल । बुद्धमा जस्तो सुकै क्रुर व्यक्तिलाई पनि सम्झाएर सही बाटोमा हिडाउन सक्ने ताकत थियो।
लेखक उमाकान्त पौड्यालको बुद्धकालिन समाज पुस्तक अनुसार बुद्धलेत् यतिबेला अष्टाङ्गिक मार्गमा केन्द्रीत गर्थे ।
पहिलो सम्यक् दृष्टिः जीवन र जगत्को यथार्थ स्वभाव तथा दुःख र यसबाट निवृत्तिका विषयमा सही दृष्टिकोण
दोस्रो सम्यक् सङ्कल्प ; निष्काम, अहिंसायुक्त तथा दे्रषरहति विचार
तेस्रो सम्यक् वचन ः कठोर कर्कश वाणी नबोल्नु चुक्ली नलगाउनु, व्यर्थका कुरा नबोल्नु
चौँथो सम्यक् कर्म ः प्राणी हिंसा, चोरी, झुटो बचन,र मिथ्याकामाचरण नगर्नु
पाँचौँ सम्यक् आजिविका ः अरुलाई हानी नपुग्ने काम बाट जिविकोपार्जन गर्नु
छैटौँ सम्यक् प्रयत्न ः आफू भित्र दुर्गुण हटाउन, नभएको दुर्गण प्रबेश हुन नदिन, भएका सद्गुणका संरक्षण गर्न र भएको सद्गण आफूमा ल्याउन निरन्तर प्रयत्नशिल रहनु
सातौँसम्यक् स्मृति ः शरिर र चित्तको अबस्था प्रति सधैं जागरुक रहनु
र आठौँ सम्यक समाधी ः मनको सम्य्क एकाग्रता हासिल गर्नु
बुद्धले शरिरलाई दुख नदिइ ध्यान गर्न र चित्त शुद्ध गर्न लगाएको देखेर अन्य सम्प्रादयलाई चिक्त बुझ्दैनथ्यो। त्यतिबेला जैन धर्मका अनुयायिले कपडा समेत नलगाइकन कठोर नियम पालना गर्थे । यसका विपरित बुद्धले शरिरको बाहिरि आवरण शुद्ध पारेर भित्र चित्त अशुद्ध भए ज्ञान प्राप्त नहुने बताउने गर्थे ।
अन्य सम्प्रदायमा जात अनुसार विभेद हुन्थयो। बुद्धले जात कर्मले हुने अछुत व्यवहार गर्नै नहुने बताउने गर्थे ।
बुद्धले ध्यानीहरुमा चमत्कार गर्न सक्ने क्षमता भएतापनि चमत्कार गरेर अनुयायीलाई भुलाउन नहुने । चम्तकार गरेर बस्दा ज्ञानको सही मार्गमा पुग्न नसकिने जिकिर गर्थे ।
श्रावस्तीमा बुद्धलाई यति अप्ठ्यारो पर्याे की उनले चमत्कार नगरी धरै पाएनन् । व्यक्तिगत रुपमा लेखकलाई यो कुरा कथ्य जस्तो लाग्छ ।
श्रावस्तीमै एक दिन बुद्धले तथागतले चमत्कार देखाउने भन्दै सूचना फैलाए । बुद्धले आफूलाई तथागत भन्थे । मान्छेहरु जम्मा भए । आँपको दाना हातमा लिए । त्यो आँप बुद्धले खाए। त्यसमा रहेको बिउ रोपेर उत्तिनबेलै आँपको रुख देखियो । त्यहाँ लटरम्मै आँप फल्यो पनि ।चमत्कार हेर्न आउने जति सबैलाई बुद्धले आँप टिपेर बुद्धले खुवाए ।
यो चमत्कार बुद्धकै अनुयायी भिक्षुणी उत्पलवर्णलाई मनपरेको थिएन। उनले बुद्धलाई भनिन् तथागत जस्तो व्यक्तिले किन यस्तो सामान्य चमत्कार देखाउनु भएको यो त हामी आफैंले सक्थयौैैैैँ नी ?
बुद्धले यो चमत्कार आफूले नै गर्नु परेको र अब यस्ता चमत्कार गर्न नहुनेमा जोड दिए ।
श्रावस्तीका राजा प्रसेन जितले यज्ञवलिको आयोजना गर्दै थिए । त्यतिबेला यज्ञ बलि गर्दा ठूलो संख्यामा पशुहरुको बलि दिइन्थ्यो। त्यतिमात्रै होइन यति धेरै खर्च हुन्थयो की गरिबहरुले रहरै भएपनि यज्ञबलि गर्न सक्दैनथे । यज्ञ बलि गर्दा पुण्य कमाइने आम जनविश्वास उस्तै थियो।
राजा प्रसेनजितले बुद्धलाई यज्ञबलि गर्न लागेको जानकारी दिन गएका थिए । बुद्धले यज्ञबलि किन दिन नहुने यसले कुनै पुण्य लाभ नहुने बताएपछि प्रसेनजितले यज्ञ बलि त गरेनन् नै उनी बौद्धमार्गि समेत भए ।
श्रावस्तीमाबुद्ध पुग्दा त्यहाँका सुद्दत्व सेँठ यति प्रभावित भएका थिएकीश्रावस्तीमै जेतवन बिहार बनाइ दिए । सुनै सुनको पैसा ओछ्याएर स्वागत गरेका थिए । बुद्धले धेरै समय यहि विहारमा बिताए ।
अन्य धर्मका अनुयायी गहृस्थहरु बौद्ध धर्ममा आएपछि अन्य धर्मका गुरुहरु रिसाउँथे । गृहस्थलाई बुद्धले भन्ने गर्थे बौद्ध मार्गी भएपनि अन्य धर्मका गुरुलाई दान दिन नछाड्नु । त्यसको अलवा अन्य गुरुले बुद्धलाई दान नदिनु भन्ने गर्थे ।
०००
श्रावस्तीमा बुद्ध २५ वर्ष बसे । तर यहि क्षेत्रमा अहिले बौद्ध धर्म मान्नेहरु निकै कम छन्। विद्यावती गुरुमा(आनी )का अनुसार अहिले यो क्षेत्रमा आम नागरिकहरु सय जना पनि छैनन् बौद्धमार्गी ।
किन त ?
नालन्दा विश्वविद्यालयमा लेखिएको शिलापत्र अनुसार नालन्दा विश्वविद्यालय संसारकै पुरानो विश्वविद्यालय थियो। यस विश्वविद्यालयमा तर्कशाष्त्र, दर्शनशाष्त्र, चिकित्साशाष्त्र व्याकरण, खगोलशाष्त्र तत्वज्ञान लगयातका विषयको पढाइ हुन्थयो । यसको अलवा बौद्ध धर्मशाष्त्रको विशेष पढाइ हुन्थयो । यो विश्वविद्यालय कुमारगुप्तले बनाएका थिए । यो ध्वस्त १२ औँ शताब्दीमा भयो बख्तियार खिलजी ले आक्रमण गरी पूणतया ध्वस्त बनाए ।
नालन्दा विश्वविद्यालय ध्वस्त हुनु र भारतमा कम बौद्धमार्गी हुनुको सम्बन्ध कसरी त ?
नालन्दाको चिनियाँ बौद्ध बिहारका भन्तेका अनुसार मुसलमानले आक्रमण गरेपछि त्यहाँका बौद्धमार्गीलाई दुई छनौट दिइयो । कि त हिन्दू हुनुपर्ने कि त मुसलमान । केही हिन्दू भयो केही मुसलमान । जो हिन्दू र मुसलमान दुबै भएनन् ति नेपाल र तिब्बतमा बसाईं गए । बौद्ध ग्रन्थहरु पनि नेपालमै पुग्यो । दक्षिणबाट उदाएका बुद्ध र बौद्ध धर्म उत्तर तिर फैलनुमा धार्मिक द्वन्द्वनै भएको पुष्टि हुन्छ नै ।
भारत उपनिवेश रहेको अबस्थामा नै बुद्ध बसेको जेतवन देखि पहिलो विश्वविद्यालय दावी गरिएको नालन्दा विश्वविद्यालय उत्खनन भएको देखिन्छ। अझै पनि ठूलो क्षेत्रमा रहेको नालन्दा विश्विद्यालयका अबशेषहरु देख्न सकिन्छ ।जेतवन बिहारमा हिड्दा लाग्छ यो बिहारमा बुद्धसँगै हिडिरहेको छु। बुद्धले शान्तिको लागि धर्मदेशना दिइरहेका छन् ।
०००
जन्मदिने आमा भेट्न बुद्ध देवलोकमा
बुद्धत्व प्राप्त गरेको ७ औँ वर्षबासमा बुद्धले आफूलाई जन्म दिने आमा मायादेविलाई भेट्न जाने निधो गरे। त्यतिबेला माया देवि त्रायंतीश देबलोकमा थिइन्। त्यस देवलोकमा माया देविको पुरुषको रुपमा जन्म भएको थियो । उनैलाई भेट्न बुद्ध पृथ्वीबाट अलप भएर देवलोक पुगे।
जन्मेको ७ औँ दिनमा आमा गुमाएका बुद्धले आमालाई आफूले बुद्धत्व प्राप्त गरेको कुरा सुनाए । मायादेवि बुद्ध प्रति अनुग्राहित भइन्। जन्म दिएको छोरा आफूलाई भेट्न आउँदा कुन आमा पो मख्ख पर्दिनन् होला र ? देबलोकमा धेरै समय बसेनन् बुद्ध । आमालाई भेटेर फर्किए । आमालाई भेटेर फर्किएका बुद्धले पृथ्वीमा पाइला टेके । त्यो पनि भारतको सांकश्यमा ।
यो कथा सुन्दा अपत्यारीलो लाग्छ नै । बौद्ध धर्मका अनुयायीहरु पुर्नजन्ममा विश्ववास राख्छन्। बौद्ध धर्मका अनुयायि भारतिय प्राध्यापक समेत रहेका डाक्टर अशोक प्रियदर्शीले यहि विषयमा विद्यावारधी गरेका छन्। उनी अशोकाराम भन्छन्, ‘भगवान गौतम बुद्धले देवलोकमा आमालाई भेटेर यहि स्थानमा अबतरण गर्नुभयो। मैले मेरो विद्यावारधीको सोधपत्र यसैमा गरेको हुँ ।’
बुद्ध धेरै ठाउँमा आउजाउ गरिरहन्थे। धेरै समयश्रावस्तीमा रहेपनि धर्मदेशनाको निम्ती उनी धेरै ठाउँ जाने गर्थे । सांकश्य पछि बुद्ध राजगिर गए।
०००
हालसम्म पुर्वजन्म र पुर्नजन्मबारे वैज्ञानिकहरुले पुष्टि गर्न सकेका छैनन्। धेरै धर्मले पुर्वजन्म र पुर्नजन्ममा विश्वास राख्छन्। खैर !सांकश्यमाबौद्ध स्तूप देख्न सकिन्छ ।
नजिकै सारिपुत्रले ५ सय भिक्षु ल्याएको ठाउँ पनि भारतिय पुरातत्व विभागले उल्लेख गरेको छ तर सांकश्यको प्रमुख स्तूप भएको स्थानलाई पालीदेवि र सारीपुत्रले भिक्षु ल्याएको स्थानलाई शिव मन्दीर भनेर पुजा आजा गरिने रहेछ ।
बौद्ध अनुयायीले बन्दना गर्ने पुजाआजा गर्ने तर देवता भने हिन्दूको राख्ने। अधिकांश बौद्ध धर्म मान्नेले भन्ने गर्छन् हिन्दूहरुको अत्याक्रमण तर हिन्दूका देविदेवताको मूर्ति पनि फालेको देखिदैन । हिन्दू धर्मका अनुयायि भन्दा बौद्ध धर्मकै अनुयायिको उपस्थीती बाक्लो देखिन्छ।
०००
बुद्धका आफ्नै सालोले ल्याए भिक्षुसंघमा फुट
बुद्ध जिर्ण हुँदै गइरहेका थिए ।आखिरि दिनमा बुद्धले आफूले केही प्रबचन दिएर भिक्षु आनन्द अथवा अरुकसैलाई प्रबचन गर्न दिएर आफ्नो कोठामा जान्थे । बुद्धसँग यति मान्छे भेट्न लालयित हुन्थे की ध्यान गर्न पनि कसैले ख्याल नगर्ने ठाउँमा बस्नु पर्ने बाध्यता थियो।
बुद्धका परिवारकै मान्छे भएतापनि बिहारमा विशेष व्यवस्था थिएन। सबै भिक्षुलाई बराबर व्यवहार गरिन्थयो। बुद्धका सालो देवदत्त पनि भिक्षु बने । भिक्षु त बने उनले आफूलाई बुद्ध जस्तै मान्न थाले।
एक दिन बुद्धलाई देवदत्तले भने तपाईं अवकाश लिनुस् म प्रबचन दिन्छु । एकदिन ठूलै झगडा पर्याे । भिक्षु संघ चोइटियो । देवदत्तले पनि बुद्धको जस्तै नक्कल गरेर प्रबचन दिन थाले। धेरै जसो व्यक्तिलाई बुद्ध नै देबदत्त हुन् भन्ने पनि पर्याे ।
मान्छे झुक्काउन त भएन भनेर बुद्धले सारीपूत्रलाई देबदत्तले धर्मदेशना गर्ने स्थानमान पठाए । देबदत्तले आफ्नो पक्ष लागेर सारी पूत्र आएको सम्झिए । प्रबचन दिदादिदै उठेर सारी पुत्रलाई प्रबचन दिन लगाएर उनी आफ्नो कोठामा लागे।
यता सारी पुत्रले असरी बुद्ध को हुन् बताइदिए । त्यसपछि भिक्षु र प्रबचन सुन्नेहरु असली बुद्ध भएको ठाउँ जाने भए ।देबदत्तले सारीपुत्रको उद्धेश्य बुझे । त्यसपछि धर्मसंघमा सन्धी भयो । त्यही सन्धी भएको स्थान राजगिर हो। भिक्षु संघमा फुट नल्याउने सन्धी भयो।
राजगिरमा नै गु्रधकुट भन्ने पर्बत पनि छ । यो पर्बतमा बौद्ध धर्मलम्बीहरुको घुईंचो नै लाग्ने गर्छ । बौद्ध धर्मका महायान तिर अनुयायीले महायान तर्फको प्रबचन यहि गु्रधकुट पर्बतमा बुद्धले दिएको विश्वास गर्छन्।
मिलेको भिक्षु संघ भएपछि बुद्ध बैशालीमा लागे ।
बुद्धकी आमा प्रजापति भिक्षुणी बन्न अनुमति दिनु पर्ने माग बुद्ध समक्ष पहिले नै राखेकी थिइन्। बुद्धत्व प्राप्त गरेपछि बुद्ध कपिलवस्तु जाँदा नै । बुद्धले महिलालाई भिक्षुणी बनाउन आनाकानी मात्रै गरेनन् हुँदैन समेत भने ।
तर वैशालीमा कपिलवस्तुबाट हिड्दै हजार जना महिलाको साथमा आमा प्रजापति आएपछि भने बुद्ध बिलखन्दमा परे । भिक्षु आनन्दले भिक्षुणी बनाउनु पर्ने आग्रह गरेपनि । बुद्धले अन्य सम्प्रादयमा विकृति आएको छ । महिलालाई बनाउनु हुँदैन भनेर रटान लगाइरहे ।
उता आनन्दले पनि भिक्षुणी संघ बनाउँदा समस्या नआउने बताइरहे । अन्तत भिक्षुणी संघ बनाउन बाध्य भए बुद्ध । भिक्षुणी संघ बन्यो पनि । केही सर्त सहित । जति पछि आएको भिक्षु भएतापनि पुरानै भिक्षुणीले बन्दना गर्नुपर्ने । भिक्षुले भन्दा भिक्षुणीले एक सय सर्त बढि पालाना गर्नुपर्ने सहित ।
प्रचलित मुल्य मान्यतालाई चुनौती दिने बुद्ध, जात व्यवस्था नमान्ने बुद्ध अनि सत्तालाई सिधै चुनौती दिएका बुद्धले महिलालाई किन विश्वास गरेनन् होला ?
बुद्धलाई पढ्दा लाग्छ उनी दार्शनिक हुन्, ध्यान सम्बन्धी उनको विधिलाई हेर्दा लाग्छ मनोविद् हुन्, व्यवहार पढ्दा लाग्छ बुद्ध शान्तिका पर्याय हुन्, जात व्यवस्थालाई नमान्दा लाग्छ समाज सुधारक हुन्, प्रचलित मूल्यमान्यतालाई ठाडै चुनौती दिएको उनको धर्म देशना पढ्दा लाग्छ बुद्ध क्रान्तिकारी हुन् अनि अन्तिममा मन चस्स हुन्छ, महिलालाई सहजै भिक्षुणी नबनाउँदा! महिलालाई किन सहजै भिक्षुणी बनाएनन् बुद्धले?
यसको पनि कारण थाहा पाउँदा झनै चस्स हुन्छ, धर्म छिट्टै नास नहोस् भनेर रहेछ। भिक्षु आनन्दले महिलाहरूलाई भिक्षुणी बनाउनुपर्छ भनि जोड गर्दा बुद्धले भनेका रहेछन् ‘महिलालाई भिक्षुणी नबनाए हजार वर्ष टिक्ने यो धर्म भिक्षुणी बनाए पाँच सय वर्ष मात्रै टिक्छ।’
भिक्षु आनन्दको जोड अनि आमा प्रजापति हजार जना महिलासहित हिँड्दै कपिलवस्तुबाट वैशाली पुगेपछि भने शर्तसहित भिक्षुणी बनाउन तयार भएका थिए गौतम बुद्ध। भिक्षुणीले भिक्षुले भन्दा एक सय बढी नियम पालना गर्नुपर्ने, जति पाको भिक्षुणी भएपनि भर्खरको भिक्षुलाई बन्दना गर्नुपर्ने लगायतका नियम थाहा पाएपछि लाग्यो बुद्ध सम्पूर्ण हुनबाट चुकेका रहेछन्।
केही किताबमा बुद्धले सहजै भिक्षुणी बनाउने हो भने सही नियम पालना नहुन सक्छ भनेर नदिएको उल्लेख छ भने अध्येता बसन्त महर्जन तत्कालिन अबस्थामा अन्य सम्प्रादयमा विकृति आएको र भिक्षु संघ नै समाल्न नसकिरहेको भएर भिक्षुणी संघ बनाउन नमानेको हुन सक्ने बताउँछन्। ।
उसो त बुद्धले बुद्धत्व प्राप्त गरेपछि मारले बुद्धलाई परनिवार्ण (मृत्यु) हुने बेला भएको बताएको थियो। तर बुद्धले भिक्षु भिक्षुणी उपासक उपासिकालाई यो ज्ञान नबाँडी परनिवार्ण प्राप्त गर्दिन भनेकाले पनि बुद्धको मनमा शुरुमा नै भिक्षुणी बनाउने योजना रहेको पनि अध्येता महर्जनको दाबी छ ।
खैर !
जे सुकै होस् बुद्धले वैशालीमा भिक्षुणी संघ बनाए ।
बैशालीमा नै बुद्धले अब आफ्नो आयु तीन महिना रहेको मात्रै बताएका थिए । त्यसपछि बुद्ध लागे कुशीनगर ।
०००
कुनैबेलाको शत्तिशाली वज्जी भन्ने देशको राजधानी वैशाली थियो। यो हालको भारतको बिहार राज्यमा पर्छ । अहिले बिहार भारतको सबैभन्दा पिछिडिएको क्षेत्र । उत्खनन त भएका छन् स्तूपहरु संरक्षण पनि भएकै छन्। तर लाग्छ त्यतिबेलाको समृद्ध वैशाली अहिले यति धेरै गरिब किन भयो हँ ?
०००
बुद्धको अस्तू माथि ८ राज्यको झगडा
कुशीनगरमा बुद्धको महापरिनिर्वाण भएपछि उनको शरिर जलाइयो । बुद्धको अस्तु अन्यको जस्तो खरानी भएन । केराउको दाना जस्तो भयो। बुद्धको अस्तु लिन त्यतिबेलाका ८ वटा राज्यको झगडा नै भयो।
धेरै दिन नै झगडा परेपछि सामाधानको बाटो खोजियो। आठै वटा राज्यले बाँडेर लिने। त्यतिबेलाका तत्कालिन राज्य मगध, वैशाली, कपिलवस्तु, अल्लाकाप्पा, रामागामा, वेथादिपा, पावा र कुशीनर रहे ।
राजा अशोक र बुद्ध
बुद्धको निधन भएको झण्डै दुई शताब्दी पछि हो राजा अशोक मगध राज्यका राजा भएका । उनी राज्य विस्तारको यस्तो अभियानमा थिए की । उनकै कारण लाखौँको हत्या भएको आरोप लाग्ने गर्छ ।
राज्य विस्तार गरिसकेपछि उनी मगध मै थिए । मनमा चैन थिएन । भिक्षु बनेका उनका भतिज बाटोमा शान्तसँग आइरहेको देखे । राज्य विस्तारको अभियानमा रहेका अशोकमा छट्पटी हुनु स्वभाविक नै थियो। उनी भिक्षु प्रति आर्कषित भए । भतिजसँग शान्त हुनुको कारण सोधे । भतिजले बुद्ध बारे बताएपनि अनि अशोकले बुद्ध बारे जहाँ जहाँ केही भेटिन्छ त्यहाँ त्यहाँ अशोक स्तम्भ राखे। उत्खनन् गरे ।
उनै अशोकले राखेको स्तम्भबाट नै बुद्ध जन्मिएको नेपालमै हो भनेर पत्ता लागेको हो । बुद्धले ज्ञान प्राप्त गरेको देखि धर्मदेशना गरेको र महापरनिवार्ण प्राप्त गरेको स्थान सम्म पत्ता लाग्दा जन्म स्थान लामो समय सम्म पत्ता लागेन । जसै ब्राह्मी लिपि सहितको अशोक स्तम्भ पत्ता लाग्यो अनि थाहा भयो बुद्ध नेपालमै जन्मेका हुन्।
उपसंहार
बुद्धका बारेमा नलेखेर सकिन्छ न त बोलेर नै । काठमाडौँ देखि ३ हजार ३ सय २० किलोमिटर यात्रा गरेर १४ औँ दिनमा काठमाडौँ फर्कदा बुद्धलाई बुझेर सकिने कुरै भएन । केही थान किताब पढेकै भरमा पनि उनलाई बुझिने कुरा रहेन । तर बुझ्ने प्रयास त रहने नै भयो। यात्राको क्रममा केही खिच्रिमिच्रि कुरा हुन्छ नै ।
भारतमा बौद्ध धर्मका गुरुहरुले पनि आजिवन सदस्य बन्दा के फाइदा हुन्छ अनि बिहार बनाउन सहयोग गर्दा शिलालेख तिन पुस्ते नाम लेखिने सम्मको लोभ देखाउने रहेछन्। लोभ र मोह त्यागेर बौद्ध मार्गि बन्ने हुन् भन्ने बुझाइ भारतमा गलत सावित हुन सक्छ । धर्म देशना गर्ने स्थानमा नै क्युआर कोड राखेर दक्षिणा माग्ने शैली पनि देखियो । बौद्ध मार्गिहरु दान यति दिनुस् उति दिनुस् भन्दैनन् तर त्यहाँ त्यो देखियो पनि ।
बुद्धले उहिबेला भिक्षु भएपछि बढि सम्मान पाइन्छ भनेर आउने पनि छन् भनेकै हुन् ।
खैर! अहिले पनि त्यस्तै होलान् ।
बुद्धको सर्कीट घुम्दै गर्दा लाग्यो बुद्धले महापरनिवार्णका अनेक सिद्धान्त बताएपनि त्यो सिद्धान्त मान्नै पर्छ भनेर पेलेनन्। आफैं सर्वज्ञानी भन्ने भ्रम पालेनन्। उनले भने मैले भनेको कुरा पनि आफूमा परिक्षण गर । आफ्नो दियो आफैं हौ अरु होइनन्।
त्यसैले त भनेका होलान् अप्प दिपो भव!
यस लेख अध्येता बसन्त महर्जन, लेखक उमाकान्त पौड्याल र मज्झमनिकाय, दीघनिकायमा उल्लेख भएका केही घटना क्रम लिएर लेखिएका हुन्।
https://www.ukeraa.com/news/detail/144184/
https://www.ukeraa.com/news/detail/144118/
https://www.ukeraa.com/news/detail/143756/
Comments
Post a Comment